
धनगढी । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा ४१ हजार ६२४ मत बदर भएको छ ।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार यहाँका १६ वटै निर्वाचन क्षेत्रमा गरी कुल खसेको मतको ४.७१ प्रतिशत मत बदर भएको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका सूचना अधिकारी दिलीप भाटले १७ लाख २९ हजार ४५० मतदाता रहेको सुदूरपश्चिममा आठ लाख ८४ १७७ मत खसेको थियो । जसमा ४१ हजार ६२४ मत बदर भएको छ । पाँचवटा निर्वाचन क्षेत्र रहेको कैलाली क्षेत्र नं १ मा ५९ हजार ३११ मत खसेकामा तीन हजार २५८ मत बदर भएको छ ।
त्यसैगरी, कैलाली-२ मा ५६ हजार ९६७ मत खसेकामा दुई हजार ६४६ मत बदर भएको सूचना अधिकारी भाटले बताए । त्यसैगरी, ६० हजार ३३२ मत खसेको कैलाली-३ मा दुई हजार ९१३ मत बदर भएको छ भने कैलालीउ-४ मा दुई हजार ९०७ मत बदर भएको छ । यहाँ कुल ६३ हजार ११७ मत खसेको थियो । कैलाली-५ मा ६६ हजार २९५ मत खसेकामा दुई हजार ८०७ मत बदर भएको छ ।
त्यसैगरी, तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा ६१ हजार ३६७ मत खसेकामा तीन हजार २३४ बदर भएको छ भने यहाँको निर्वाचन क्षेत्र नं २ मा तीन हजार ४३० मत बदर भएको छ । यहाँ कुल ६६ हजार ५४ मत खसेको थियो । त्यसैगरी, कञ्चनपुर-३ मा ५८ हजार ५४३ मत खसेकामा तीन हजार ३९९ मत बदर भएको छ ।
त्यसैगरी, दुईवटा निर्वाचन क्षेत्र रहेको अछाममा निर्वाचन क्षेत्र नं १ मा एक हजार ११९ मत बदर भएको छ । यहाँ कुल ३२ हजार २४३ मत खसेको थियो भने अछाम-२ मा ३२ हजार ६५० मत खसेकामा एक हजार ५३१ मत बदर भएको छ । एउटा निर्वाचन क्षेत्र रहेको बाजुरामा कुल ४५ हजार ६६९ मत खसेकामा एक हजार २०० मत बदर भएको छ भने डोटीमा ५२ हजार ९०६ मत खसेकामा दुई हजार ४६९ मत बदर भएको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।
दार्चुलामा एक हजार ६०८ मत बदर भएको छ । यहाँ कुल ५० हजार ९३० मत खसेको थियो भने बैतडीमा ७२ हजार ३०८ मत खसेको थियो । यहाँ चार हजार १२६ मत बदर भएको छ । यसैगरी, डडेल्धुरामा २६ हजार २११ मत खसेकामा दुई हजार २५ मत बदर भएको छ ।
सुदूरपश्चिममा ५१।१२ प्रतिशत मतदान भएकामा ९५.२९ प्रतिशत सदर र ४.७१ प्रतिशत मत बदर भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
यहाँ १६ सिटमध्ये कैलालीका पाँच, कञ्चनपुरका तीन, बैतडी र डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका थिए भने डोटी, अछाम-१ र बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए भने बझाङ, दार्चुला र अछाम-२ मा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका थिए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal