
काठमाडौं । नेपालमा गत माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति घटेर ३.२५ प्रतिशतमा सीमित भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धी प्रतिवेदनमा यस्तो तथ्य उल्लेख गरिएको हो ।
प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही अवधिमा उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशत रहेको थियो । यस वर्ष भने मुद्रास्फीति घटेर आएको देखिएको छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५० प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६६ प्रतिशत रहेको छ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा औसत मुद्रास्फीति १.९२ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४.८६ प्रतिशतभन्दा उल्लेख्य रूपमा कम हो ।
खाद्य समूहअन्तर्गत तरकारीको मूल्य ११.६३ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल ७.६१ प्रतिशत र फलफूल ७.४१ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । तर दाल तथा गेडागुडीको मूल्य ५.१९ प्रतिशतले घटेको छ भने खाद्य तथा खाद्यजन्य वस्तु २.९७ प्रतिशतले सस्तिएको जनाइएको छ ।
प्रदेशगत रूपमा सबैभन्दा बढी मुद्रास्फीति मधेश प्रदेश मा ५.१४ प्रतिशत रहेको छ । सबैभन्दा कम भने कर्णाली प्रदेश मा १.६२ प्रतिशत र सुदूरपश्चिम प्रदेश मा १.६४ प्रतिशत रहेको छ । यसैगरी काठमाडौं उपत्यका मा मुद्रास्फीति ३.४८ प्रतिशत रहेको छ ।
प्रतिवेदनअनुसार गत माघ महिनामा थोक मुद्रास्फीति ६.२१ प्रतिशत पुगेको छ । तुलनात्मक रूपमा हेर्दा सन् २०२६ को जनवरी महिनामा भारत मा उपभोक्ता मुद्रास्फीति २.७५ प्रतिशत रहेको उल्लेख गरिएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal