• Menu

३ अर्बको लगानीमा २२.५ मेगावाटको माथिल्लो ठूलोखोला आयोजना सम्पन्न

नेपाल प्रफिट

२०८२ फागुन २८, १४:३१

३ अर्बको लगानीमा २२.५ मेगावाटको माथिल्लो ठूलोखोला आयोजना सम्पन्न

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका-७ मा २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना, विद्युतगृहमा उपकरण जडान र प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । आयोजना प्रमुख शिवसागर यादवले भौतिक संरचना निर्माण सम्पन्न गरी परीक्षण उत्पादन थालिएको जानकारी दिए ।

‘बाँध, विद्युतगृह, पाइपलाइन, प्रसारणलाइन र विद्युतगृहका उपकरण जडानका साथै आन्तरिक परीक्षण सकिएको छ,’ उनले भने, ‘नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा परीक्षण उत्पादनमा जुटेका छौँ ।’

२०७८ सालमा उक्त आयोजना निर्माण सुरु भएको थियो । आयोजना निर्माणस्थल भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ । सुगुरथलामा बाँध, डिसेन्डर (पानी थिग्राउने पोखरी), दुई हजार ९०० मिटर मुख्य पाइपलाइन र ३०० मिटर सर्च साफ्ट पाइपलाइन जडान, फेदीमा विद्युतगृह निर्माण गरिएको छ । विद्युतगृह परिसरमा ‘स्वीचयार्ड’ निर्माण गरिएको छ ।

यो आयोजना ‘रन अफ द रिभर’ प्रकृतिको हो । फेदीदेखि बन्दीसम्म १४ वटा टावर बनाएर पाँच किलोमिटर लामो १३२ केभी क्षमताको प्रशारण लाइन निर्माण गरिएको छ । बन्दीदेखि ठूलोखोला र चिमखोलादेखि चिमखोला-मंगले-राहुघाट जलविद्युत आयोजनासँग सहकार्य गरेर तिल्केनीचौर हुँदै २२० केभी क्षमताको दाना-खुर्कोट प्रसारण लाइनमार्फत आयोजनाको विद्युत केन्द्रीय प्रणालीमा आवद्ध गराइएको छ ।

देव ऊर्जा कन्ट्रक्सन सिभिल, हाइड्रोमेकानिकल र बिएफएल बेङ्गलोर इलेक्ट्रोमेकानिकल ठेकेदार हुन् । तीन अर्ब लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स र माछापुच्छ्रे बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । प्रवर्द्धकको १० प्रतिशत लगानी रहने आयोजनाको २० प्रतिशत लगानी शेयर जारी गरेर सर्वसाधारणमार्फत जुटाइनेछ् ।

राहुघाट र सहायक नदीमा यसअघि तीन वटा जलविद्युत आयोजना निर्माण भइसकेका छन् । तुँदी पावरले प्रवर्धन गरेको ३५.५ मेगावाट क्षमताको चिमखोला-राहुघाट-मंगले र त्यसको क्यासकेडको रुपमा ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आइसकेका छन् ।

राहुघाटको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाले गत भदौदेखि व्यावसायिक उत्पादन थालेको थियो । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्