
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको हालै सम्पन्न निर्वाचन प्रक्रियासम्बन्धी विषयमा दायर गरिएको रिट निवेदनलाई सम्मानित उच्च अदालतबाट खारेज भएको छ । अदालतमा विचाराधीन अवस्थामा संस्थाले न्यायालयप्रतिको उच्च सम्मान तथा विधिको शासनप्रतिको संस्थाको प्रतिबद्धतालाई मध्यनजर गर्दै नवनिर्वाचित कार्यसमितिको औपचारिक शपथग्रहण कार्यक्रम अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको थियो ।
बुधबार पाटन उच्च अदालतबाट रिट निवेदन खारेज भएको निर्णय प्राप्त भएसँगै उक्त विषयसँग सम्बन्धित सम्पूर्ण कानुनी अवरोध समाप्त भएको छ र नाडाको नवनिर्वाचित कार्यसमितिको शपथग्रहणका लागि मार्ग प्रशस्त भएको छ । यसै सन्दर्भमा, नाडाको नवनिर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम संस्थाको विधान, विधि तथा स्थापित प्रक्रियाअनुसार निकट भविष्यमा सम्पन्न गरिने जानकारी गराइन्छ ।
नाडाले सम्मानित अदालतको निर्णयप्रति सम्मान व्यक्त गर्दै उक्त निर्णयले सम्बन्धित विषयमा स्पष्टता ल्याएको तथा संस्थालाई आगामी दिनमा थप स्थिरता र एकताका साथ अघि बढ्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्छ । साथै, नाडाले सम्पूर्ण सदस्य, सरोकारवाला निकाय तथा साझेदार संस्थाहरूसँग सहकार्य गर्दै नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकास, नीतिगत संवाद तथा उद्योगमैत्री वातावरण सुदृढीकरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal