काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् ।
खनालले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै अर्थमन्त्रीको हैसियतमा प्रयोगका लागि उपलब्ध गराइएको कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा फिर्ता गरिएको बताएका हुन् ।
उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानी नं. डीए०००२७१० को प्रयोजन समाप्त भएकोले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनु राहदानी यसै साथ संलग्न राखी अनुरोध गरेको छु ।’
अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई सम्बोधन गर्दै उनले आफूले प्रयोग गर्दै आएको उक्त राहदानी फिर्ता गरिसकेको पनि उल्लेख गरेका छन् ।
जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा खनाल अर्थमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् ।