• Menu

हाइटीमा सुरक्षा कारबाहीको आडमा ‘ड्रोन आतंक’ : १७ बालबालिकासहित १ हजार २४३ जनाको मृत्यु

नेपाल प्रफिट

२०८२ फागुन २६, १२:५१

हाइटीमा सुरक्षा कारबाहीको आडमा ‘ड्रोन आतंक’ : १७ बालबालिकासहित १ हजार २४३ जनाको मृत्यु

एजेन्सी । हाइटी सरकारले आपराधिक गिरोहविरुद्ध सञ्चालन गरेको ड्रोन आक्रमणका क्रममा सर्वसाधारण नागरिकसमेत मारिएको मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले चेतावनी दिएको छ । संस्थाका अनुसार सुरक्षा कारबाहीका नाममा गरिएको ‘ठूलो मात्रामा घातक’ ड्रोन प्रयोगले बालबालिकासहित निर्दोष नागरिकलाई पनि गम्भीर जोखिममा पारेको छ ।

ह्युमन राइट्स वाचले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार मार्च १, २०२५ देखि जनवरी २१, २०२६ सम्म सञ्चालन गरिएका १४१ वटा ड्रोन अपरेसनका क्रममा कम्तीमा एक हजार २४३ जनाको मृत्यु भएको छ । ती मृतकमध्ये कम्तीमा ४३ जना वयस्क आपराधिक गिरोहका सदस्य नभएको स्पष्ट देखिएको छ भने १७ जना बालबालिका पनि रहेका छन् ।

त्यसैगरी यी आक्रमणहरूमा ७३८ जना घाइते भएका छन् । घाइतेमध्ये कम्तीमा ४९ जना आपराधिक समूहसँग सम्बन्धित नभएका व्यक्तिहरू रहेको उल्लेख गरिएको छ ।

हाइटीमा पछिल्ला वर्षहरूमा गिरोह हिंसा तीव्र रूपमा फैलिएको छ । संयुक्त राष्ट्रसंघका अनुसार आपराधिक गिरोहहरूले अहिले राजधानी पोर्ट-अ-प्रिन्सको करिब ९० प्रतिशत क्षेत्र आफ्नो नियन्त्रणमा लिएका छन् । सन् २०२५ मा मात्रै गिरोह हिंसासम्बन्धी घटनामा झन्डै छ हजार जनाको ज्यान गएको तथ्यांक संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको छ ।

क्यारिबियन क्षेत्रमा पर्ने हाइटी अमेरिकाको सबैभन्दा गरिब देश मानिन्छ । यहाँ वर्षौंदेखि हत्या, बलात्कार र अपहरणका घटनासहितको घातक गिरोह हिंसा व्यापक रूपमा फैलिएको छ ।

लगातारको हिंसाका कारण करिब १४ लाख मानिस अर्थात् कुल जनसंख्याको करिब १० प्रतिशत विस्थापित भएका छन् । त्यसैगरी हाइटीका झन्डै आधा नागरिक अहिले गम्भीर खाद्य असुरक्षाबाट प्रभावित भएको अनुमान गरिएको छ । यसमा पाँच वर्षमुनिका करिब १२ लाख बालबालिका पनि समावेश छन् ।

ह्युमन राइट्स वाचका अमेरिकासम्बन्धी निर्देशक जुआनिता गोबर्टसले यी आक्रमणहरूले निर्दोष मानिसहरूलाई ठूलो क्षति पुर्‍याइरहेको बताए । उनका अनुसार यी घातक ड्रोन अपरेसनहरूमा धेरै बालबालिकासहित दर्जनौँ सर्वसाधारण नागरिक मारिएका र घाइते भएका छन् ।

उनले हाइटीका अधिकारीहरूलाई सुरक्षा बल र उनीहरूसँग काम गर्ने निजी ठेकेदारहरूको गतिविधिलाई तत्काल नियन्त्रणमा लिन आग्रह गरे । ‘थप बालबालिकाको ज्यान जानुअघि हाइटीका अधिकारीहरूले आफ्नो सुरक्षा बल र निजी ठेकेदारहरूलाई तुरुन्तै नियन्त्रण गर्नुपर्छ,’ उनले भने ।

हाइटीमा रहेको संयुक्त राष्ट्रसंघको एकीकृत कार्यालयका अनुसार यी ड्रोन आक्रमणहरू प्रधानमन्त्री एलिक्स डिडियर फिल्स-एमेले गठन गरेको टास्क फोर्सद्वारा सञ्चालन गरिएको हो । उक्त टास्क फोर्सलाई निजी सैन्य कम्पनी भेक्टस ग्लोबलले परिचालन सहयोग उपलब्ध गराइरहेको बताइएको छ ।

ह्युमन राइट्स वाचका अनुसार हाइटीका लागि वासिङ्टनस्थित राजदूतले अमेरिकी विदेश मन्त्रालयले भेक्टस ग्लोबललाई हाइटीमा रक्षा सेवाहरू निर्यात गर्न अनुमति दिने इजाजतपत्र जारी गरेको पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्