काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशलाई स्पष्ट दृष्टिकोण, ठोस योजना र परिणाम दिने नेतृत्व आवश्यक रहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नेपालको मुख्य समस्या आन्दोलन वा घोषणाको अभाव नभई कार्यान्वयनको कमजोरी भएको उल्लेख गरे । उनका अनुसार विकासका योजनाहरू समयमै पूरा नहुनु, ठेकेदारले काम नगर्दा पनि कारबाही हुन नसक्नु र निर्णय प्रक्रिया ढिलाइ हुनुजस्ता कारणले देशको विकास अवरुद्ध भएको छ ।
घिसिङले नाराभन्दा पनि काम गर्ने नेतृत्वको खाँचो रहेको बताउँदै एउटा पुल निर्माण गर्न वर्षौं लाग्ने अवस्था अन्त्य हुनुपर्ने धारणा व्यक्त गरे ।
हालै सम्पन्न निर्वाचनलाई उनले केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभई भ्रष्टाचार, अनियमितता र अकर्मण्यताविरुद्ध उठेको जनआवाजपछि आएको परिवर्तनको अवसरका रूपमा व्याख्या गरे ।
नेपालले विगतमा दैनिक १८ घण्टासम्मको लोडसेडिङ भोगेको स्मरण गर्दै उनले दृढ नेतृत्व र साहसी निर्णयले त्यस्तो अँध्यारो अन्त्य गर्न सम्भव भएको बताए । नेपाल विद्युत प्राधिकरणलाई सुदृढ बनाउँदै विद्युत सेवा विस्तार गरिएको र देशलाई ऊर्जा क्षेत्रमा आत्मनिर्भरतातर्फ अघि बढाइएको उनले दाबी गरे ।
उनका अनुसार पहिले करिब ५८ प्रतिशत घरधुरीमा मात्र विद्युत सेवा पुगेको अवस्थामा अहिले ९९ प्रतिशत घरधुरीसम्म विद्युत विस्तार भएको छ । यसले नेपाललाई विद्युत आयातकर्ताबाट निर्यातकर्तातर्फ अघि बढ्ने आत्मविश्वास दिलाएको उनले बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा बञ्चरेडाँडाको फोहोर व्यवस्थापनमा देखिएको अवरोध हटाउने, मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालन गर्ने, तातोपानी नाका खुलाउने तथा अलपत्र परेका विकास आयोजनाका ठेक्का तोड्ने काम अघि बढाइएको पनि उनले उल्लेख गरे ।
घिसिङले निर्वाचनमार्फत परिवर्तनको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले ठूलो जनमत दिएको भन्दै सुशासन कायम गर्न उनीहरू सफल होऊन् भन्ने शुभकामना व्यक्त गरे । साथै, सरकारका सकारात्मक काममा समर्थन र गलत कार्यमा उज्यालो नेपाल पार्टीले रचनात्मक रूपमा खबरदारी गर्ने बताए ।
चुनावी परिणामबारे उनले हारलाई अन्तिम निष्कर्ष नभई प्राविधिक विषय मात्र भएको उल्लेख गर्दै उज्यालो नेपाल निर्माणको अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले छोटो समयमै जनताबाट प्राप्त भएको विश्वास, माया र सद्भाव आफूहरूको लागि ठूलो ऊर्जा र मार्गदर्शन बनेको पनि बताए ।