• Menu

स्थानीय सरकारको साथले भुल्केका किसान उत्साहित, फलफूल खेती बने आयआर्जनको माध्यम

नेपाल प्रफिट

२०८२ फागुन २६, ११:४५

स्थानीय सरकारको साथले भुल्केका किसान उत्साहित, फलफूल खेती बने आयआर्जनको माध्यम

भोजपुर । रामप्रसादराई गाउँपालिका-३ भुल्के क्षेत्रका किसान पछिल्लो समय व्यावसायिक फलफूलखेतीतर्फ आकर्षित भएका छन् । स्थानीय तहबाट आवश्यक आर्थिक, प्राविधिक तथा सामग्री सहयोग प्राप्त हुन थालेपछि परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई विस्तार गर्दै किसान व्यावसायिक कृषि प्रणालीमा उन्मुख भएका हुन् ।

यहाँका किसानले हाल सुन्तला, एभोकाडो, कागती, जुनारलगायत फलफूलको व्यावसायिक खेती सुरु गरेका छन् । केही किसानले मिश्रित खेती प्रणाली अपनाउँदै फलफूलसँगै मौसमी तरकारी उत्पादनसमेत गर्दै आएका छन् । अनुकूल हावापानी, उर्वर माटो र उपयुक्त भूगोलका कारण भुल्के क्षेत्र फलफूलखेतीका लागि सम्भावनायुक्त मानिएको छ ।

स्थानीय कृषक सीता खड्काका अनुसार वडा र गाउँपालिकाबाट प्राप्त सहयोगले खेतीप्रति उत्साह बढाएको छ । ‘पहिले सामान्य किसिमले खेती गर्थ्यौ, उत्पादन पनि सीमित हुन्थ्यो,’ उनले भने, ‘अहिले बिरुवा, मल, तालिम र प्राविधिक सल्लाह पाएपछि व्यावसायिक रूपमा खेती गर्न आत्मविश्वास बढेको छ ।’ उनका अनुसार व्यावसायिक खेतीबाट आम्दानी बढ्ने अपेक्षा गरिएको छ, जसले परिवारको आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

वडा कार्यालयका अनुसार कृषिलाई आयआर्जनको दिगो माध्यम बनाउने लक्ष्यसहित योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन गरिएको छ । किसानको माग र व्यावसायिक योजनाका आधारमा विभिन्न जातका फलफूलका बिरुवा, मल, बीउबिजन वितरण गरिँदै आएको छ । साथै प्राविधिक जनशक्तिमार्फत बाली व्यवस्थापन, रोग नियन्त्रण र आधुनिक खेती प्रविधिबारे तालिमसमेत प्रदान गरिँदै आएको जनाइएको छ ।

भूगोल र माटो सुहाउँदो खेती प्रणालीमा विशेष जोड दिइएको वडाध्यक्ष रामु थापामगरले बताए । ‘हामीले यहाँको हावापानीअनुसार उपयुक्त बाली छनोट गर्न किसानलाई प्रेरित गरेका छौँ,’ उनले भने, ‘व्यावसायिक कृषिमार्फत किसानलाई आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो ।’

फलफूल तथा तरकारीखेतीलाई प्रोत्साहन गर्न ‘एक घर-एक टनेल’ कार्यक्रम अघि बढाइएको छ भने सिँचाइ सुविधा विस्तारका लागि सिँचाइ पोखरी निर्माणको कामसमेत भइरहेको छ । उत्पादन वृद्धि भएसँगै बजारीकरणमा समस्या नआओस् भनेर बजार व्यवस्थापनका विषयमा पनि योजना बनाइएको वडाले जनाएको छ । उत्पादन हुने अवस्थामा संकलन केन्द्र स्थापना र ढुवानी व्यवस्थापनमा सहयोग गर्ने तयारी रहेको बताइएको छ ।

स्थानीय सरकारको पहल, प्राविधिक सहयोग र किसानको मेहेनतले भुल्के क्षेत्रलाई फलफूल उत्पादनको उदीयमान केन्द्रका रूपमा विकास गर्ने सम्भावना देखिएको छ । व्यावसायिक खेती विस्तारसँगै रोजगारी सृजना, आयवृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढ हुने स्थानीय जानकारहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्