• Menu

बाजुरामा पूर्वमन्त्री शाहसहित ५ उम्मेदवारको जमानत जफत

नेपाल प्रफिट

२०८२ फागुन २५, १५:५१

बाजुरामा पूर्वमन्त्री शाहसहित ५ उम्मेदवारको जमानत जफत

बाजुरा । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणमा आइतबार सार्वजनिक भएसँगै निर्वाचनमा उम्मेदवार बनेका ५ जनाको धरौटी जफत भएको छ । निर्वाचनमा भाग लिएका आठ जना उम्मेदवारमध्ये पाँच जनाले ‘थ्रेस होल्ड’ कटाउन नसकेपछि उनीहरूको जमानत जफत भएको हो ।

निर्वाचन ऐनको परिच्छेद-१० को विविध खण्डअन्तर्गत दफा ६४ मा व्यवस्था भएबमोजिम, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा खसेको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी प्रावधान छ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाशबहादुर शाहको धरौटी जफत भएको छ । उनी सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्रीसमेत छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा कुल ८७ हजार ८६१ मतदाता रहेको छ । तीमध्ये ४५ हजार २४२ मत खसेको थियो । खसेको मतमध्ये ४३ हजार ८९६ मत सदर भएका छन् भने एक हजार ३४६ मत बदर भएका छन् । सदर मतको कम्तीमा १० प्रतिशत मत नल्याए धरौटी जफत हुने प्रावधान रहेको निर्वाचन आयोगको ऐनमा उल्लेख गरिएको छ ।

शाहले ल्याएको मत परिणामअनुसार शाहले तीन हजार ४२४ मत मात्रै प्राप्त गरेका थिए । उनले जमानत जोगाउन निर्वाचन ऐनको प्रावधानअनुसार धरौटी (जमानत) जोगाउन चार हजार ३८९ मत ल्याउनुपर्ने थियो । शाहले प्राप्त गरेको निर्वाचन परिणामअनुसार धरौटी जफत हुने भएको छ । पूर्वमन्त्री शाहको भन्दा बढी मत राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ६ हजार ३५ मत प्राप्त गर्दै तेस्रोमा रहेका छन् । शाहले तीन हजार ४२४ मत प्राप्त गर्दै चौथो स्थानमा रहे ।

शाह २०७४ को प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा नेकपा एमालेबाट बाजुरा प्रदेश (ख) बाट निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा शाहले कांग्रेसका पदम शाहीलाई पराजित गरेर विजयी शाहले १८ हजार १८६ मत ल्याएका थिए भने कांग्रेसका पदम शाहीले १४ हजार ९७७ मत ल्याएका थिए ।

शाहसँगै यहाँका पाँच जना उम्मेदवारका धरौटी जफत भएको छ । जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार केशरबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवार भुपेन्द्र ल्वार, प्रगतिशील लोकतान्त्रिक पार्टीका डिककुमार डिसी र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीको जमानत जफत भएको हो ।

जमानत जफत भएका राप्रपाका उम्मेदवार शाहीले ३५२, नेपाल कम्युनिष्ट (माओवादी) का उम्मेदवार ल्वारले २३३, प्रलोपाका उम्मेदवार डिसीले ९७ र स्वतन्त्र उम्मेदवार शाहीले ७२ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्