• Menu

प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मतदान

नेपाल प्रफिट

२०८२ फागुन २१, २०:३५

प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मतदान

काठमाडौँ । आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ। निर्वाचन आयोगले मतदान सम्पन्न भएपछि काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो।

आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार हालसम्म प्राप्त प्रारम्भिक विवरणका आधारमा देशभर करिब ६० प्रतिशत मत खसेको देखिएको छ। उनले विस्तृत विवरण सङ्कलन गर्ने कार्य जारी रहेको बताउँदै छिटपुट घटनाबाहेक निर्वाचन देशभर शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाहरूको प्रारम्भिक प्रतिवेदनले पनि निर्वाचन समग्रमा शान्तिपूर्ण रहेको उल्लेख गरेको उनले बताए ।

दुर्गम क्षेत्रका १५ जिल्लाबाट मतपेटिका सङ्कलनका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिने आयोगले जनाएको छ। कार्यबाहक प्रमुख आयुक्त भण्डारीका अनुसार ताप्लेजुङ, रसुवा, दोलखा र रुकुमपूर्व जिल्लाका मतपेटिका आजै सङ्कलन गरिनेछन्। त्यस्तै सङ्खुवासभा, सोलुखुम्बु, मनाङ, हुम्ला, रुकुमपश्चिम र बाजुरा जिल्लाका मतपेटिका शुक्रबारसम्म हेलिकप्टरमार्फत सङ्कलन गरिनेछ। मतपेटिका सङ्कलनपछि मतगणना प्रक्रिया तत्काल सुरु गरिने आयोगले जनाएको छ।

आयोगले निर्वाचन प्रक्रियामा सहभागी भई मताधिकार प्रयोग गर्ने तथा व्यवस्थापनमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेको छ। केही स्थानमा मतदाताले मतदानमा सहभागी हुन अस्वीकार गरेको विषयमा प्रतिक्रिया दिँदै आयुक्त भण्डारीले सरकार वा जनप्रतिनिधिले गरेका प्रतिबद्धता पूरा नहुँदा कतिपय मतदाताले मतदान नगरेको हुनसक्ने बताए । यद्यपि ती मतदाताको असन्तुष्टि संविधान, प्रणाली वा आयोगप्रति नभएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्