• Menu

निर्वाचनका लागि सवारी पास लिन आयोगमा उम्मेदवारका प्रतिनिधिको भीड

नेपाल प्रफिट

२०८२ फागुन २०, बुधबार १५:२४

निर्वाचनका लागि सवारी पास लिन आयोगमा उम्मेदवारका प्रतिनिधिको भीड

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सवारी आवतजावतका लागि अनुमति पत्र (पास) लिन उम्मेदवारका प्रतिनिधिहरू बिहीबार निर्वाचन आयोग पुगेका छन् । निर्वाचनको दिन अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइने भएपछि उम्मेदवार र उनीहरूका प्रतिनिधिहरू पास लिन आयोग परिसर पुगेका हुन् ।

निर्वाचन आयोगले मतदानका दिन उम्मेदवार, सुरक्षाकर्मी, पर्यवेक्षक र कुटनैतिक नियोगका लागि सवारी पास अनिवार्य गरेको छ । आयोगका अनुसार, तोकिएको मापदण्ड पूरा गरेका र आवश्यक कागजात पेस गर्ने उम्मेदवारका प्रतिनिधिहरूलाई आजै पास वितरण गर्ने कार्य भइरहेको छ ।

आयोगले काठमाडौं, भक्तपुर र ललितपुरका लागि आयोग परिसरमै एकीकृत डेस्क स्थापना गरी पास वितरणलाई सहज बनाएको छ । उम्मेदवारको हकमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट र अन्यको हकमा आयोग वा जिल्ला प्रशासन कार्यालयबाट पास जारी गर्ने व्यवस्था मिलाइएको छ ।

यसअघि आयोगले एक विज्ञप्ति जारी गर्दै एम्बुलेन्स, दमकल, शववाहन, खानेपानी, दूध र विद्युत जस्ता अत्यावश्यक सेवाका सवारी साधनलाई भने पास नचाहिने स्पष्ट पारिसकेको छ । यस्तै, सूचना विभागको प्रेस पास भएका सञ्चारकर्मीका सवारी साधनलाई पनि छुट्टै पास आवश्यक पर्ने छैन ।

बिहीबार बिहानैदेखि मतदान प्रक्रिया सुरु हुने भएकाले आज मध्यरातदेखि नै मतदान नसकिउन्जेलसम्म हवाई यात्रुहरूको हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा विमानस्थलसम्म जान र बासस्थानसम्म फर्कनका लागि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ ।

यस्तै, गम्भीर बिरामी बोकेका निजी सवारी साधनलाई मानवीय आधारमा अस्पतालसम्म जान सुरक्षाकर्मीले सहयोग गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्