• Menu

धार्मिक पर्यटकीयस्थल गलेश्वरको मुहार फेरिँदै, बजारका सडकमा ‘स्लेट’ ढुंगा बिछ्याउन सुरु

नेपाल प्रफिट

२०८२ फागुन २०, बुधबार १२:४०

धार्मिक पर्यटकीयस्थल गलेश्वरको मुहार फेरिँदै, बजारका सडकमा ‘स्लेट’ ढुंगा बिछ्याउन सुरु

म्याग्दी । बेनी नगरपालिका-९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको बजारभित्रको सडकमा ढुंगाको स्ल्याप बिछ्याउन थालिएको छ ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्वार मानिने गलेश्वरको बजारभित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न सौन्दर्यकरण योजना सञ्चालन भएको हो ।

६४ लाख सात हजार लागत अनुमान गरिएको गलेश्वर बजार सौन्दर्यकरण योजना निर्माणका लागि गत मंसिर महिनामा रिभर इडेग इन्जिनियरिङ एण्ड बिल्डर्सले ४८ लाख ७४ हजार २७७ मा ठेक्का सम्झौता गरेको थियो ।

योजनामार्फत गलेश्वर मन्दिरको प्रवेशद्वारदेखि बसपार्कतर्फ ढुंगा बिछ्याउने काम सुरु भएको बेनी नगरपालिका-९ का वडाध्यक्ष चक्र केसीले जानकारी दिए ।

गलेश्वर बजार सौन्दर्यकरण योजना बेनी नगरपालिकाको गौरवको आयोजना हो । गलेश्वर शिवालय क्षेत्र विकास कोष र बेनी नगरपालिकाको लागत साझेदारीमा गत वर्षदेखि सुरु भएको यो योजनाले चालु आर्थिक वर्षमा पनि निरन्तरता पाएको छ ।

यस वर्ष दुई ९५ मिटर दूरी सडकमा एक हजार सात सय १८.५ घनमिटर ‘स्लेट’ ढुंगा बिछ्याउने र ३० मिटर लामो नाली निर्माण हुने बेनी नगरपालिकाका सव इञ्जिनियर मिलन केसीले बताए । गत वर्ष गलेश्वर प्रवेशद्वारदेखि मन्दिरतर्फ १०६ मिटर दूरीमा सात हजार १०० घनमिटर ढुंगा बिछ्याउनुका साथै ५३ घनमिटर पर्खाल र २० मिटर पलम नाली निर्माण भएको छ ।

सडकलाई सम्माउने, नाली र पर्खाल बनाएर भुईँमा ढलान र कालोपत्रको विकल्पमा दुई इञ्च बाक्लो ‘कटिङ’ ढुंगा बिछ्याएर सिमेन्टले जमाउने काम भैरहेको छ ।  मुक्तिनाथ र मुस्ताङ जाने आउने पर्यटक तथा भक्तजनलाई गलेश्वरमा भित्र्याउने र उनिहरुको बसाई लम्बाउने उद्देश्यले सुरु गरिएको सौन्दर्यकरणको योजनालाई निरन्तरता दिने वडाध्यक्ष केसीले बताए ।

गलेश्वर बजारभित्रको सडकमा ढुंगा बिछ्याएपछि सार्वजनिक यातायातका साधन बजार बाहिरको कालीगण्डकी कोरिडोरको सडकबाट मात्र आवतजावतको व्यवस्था मिलाइने उनले बताए । भुँईमा बिछ्याइने ढुंगामा असर नपर्ने गरे बजारभित्र निर्माण सामग्री र उपभोग्य सामग्री आपूर्तिका सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी संरचनाको ढाँचा गरिएको छ ।

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलको एउटै विशाल चट्टानमाथि रहेको गलेश्वर मन्दिरमा पूजाआजा र दर्शन गर्नाले मनोकांक्षा पूरा हुने र पुण्य मिल्ने धार्मिक विश्वास छ ।

हिन्दूधर्म ग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्ने छ । दैनिक नित्य पूजाआजा हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्