• Menu

भैरहवाको सिद्धार्थ विलासामा ट्रान्क्युलिटी स्पाको सेवा सुरु, वेलनेस पर्यटनमा नयाँ आयाम

नेपाल प्रफिट

२०८२ फागुन २०, बुधबार ११:५६

भैरहवाको सिद्धार्थ विलासामा ट्रान्क्युलिटी स्पाको सेवा सुरु, वेलनेस पर्यटनमा नयाँ आयाम

काठमाडौं । नेपालको अग्रणी स्पा तथा वेलनेस ब्रान्ड ट्रान्क्युलिटी स्पाले लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय सहर भैरहवास्थित सिद्धार्थ विलासामा सेवा विस्तार गरेको छ । द सोल्टी काठमाडौं, र्‍याडिसन होटल, रोयल टुलिप काठमाडौं, रोयल टुलिप चितवन, माउन्टेन ग्लोरी पोखरालगायत देशका विभिन्न प्रतिष्ठित होटलमा सेवा विस्तार गरिसकेको ट्रान्क्युलिटी स्पाले अब लुम्बिनी प्रदेशमा पनि उपस्थिति बनाएको छ ।

नेपाली ग्राहकका साथै नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकमाझ समेत लोकप्रिय रहेको ट्रान्क्युलिटी स्पाले विदेशमा पनि शाखा सञ्चालन गर्दै आएको छ । विशेषगरी मलेसियामा रहेको शाखाले उत्कृष्ट सेवा प्रदान गर्दै त्यहाँका सेवाग्राहीको विश्वास जित्न सफल भएको कम्पनीले जनाएको छ ।

‘लुम्बिनीको प्रवेशद्वार’ का रूपमा परिचित भैरहवामा स्थापना गरिएको यस सुविधासम्पन्न स्पा तथा वेलनेस सेन्टरले स्वदेशी तथा विदेशी पर्यटकलाई मानसिक शान्ति र शारीरिक स्फूर्ति प्रदान गर्ने लक्ष्य राखेको छ । नयाँ शाखामा हाइड्रोथर्मल थेरापी, सैलुन सेवा, स्विमिङ, जिम, परम्परागत नेपाली मसाज उपचारलगायत समग्र वेलनेससम्बन्धी विविध सेवा उपलब्ध छन् ।

स्पा व्यवसाय र नयाँ शाखा विस्तारबारे ट्रान्क्युलिटी स्पाका अध्यक्ष भुवन फैजूले ट्रान्क्युलिटी स्पा पारिवारिक अवधारणामा आधारित वेलनेस ब्रान्ड भएको उल्लेख गरे । उनका अनुसार हरेक व्यक्तिका लागि स्पा तथा वेलनेस आधारभूत आवश्यकता भएकाले स्थापना कालदेखि नै कम्पनीले नेपालमा वेलनेस संस्कृतिको प्रवद्र्धन गर्दै आएको छ ।

कार्यकारी निर्देशक सुरेश पुरीले काठमाडौंबाहिर पनि गुणस्तरीय वेलनेस सेवा विस्तार गर्ने दीर्घकालीन लक्ष्यअनुसार भैरहवामा शाखा सञ्चालन गरिएको जानकारी दिए । प्रमुख पर्यटकीय तथा आतिथ्य क्षेत्रमा स्पा सेवाको पहुँच विस्तार गर्नु कम्पनीको प्राथमिकता रहेको उनले स्पष्ट पारे ।

ट्रान्क्युलिटी स्पाले वेलनेस पर्यटन प्रवर्धनसँगै युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने अभियानलाई पनि अगाडि बढाउँदै आएको छ । हाल कम्पनीले नेपालभर १८ भन्दा बढी शाखामार्फत सेवा प्रदान गर्दै २५० भन्दा बढी युवालाई रोजगारी दिएको जनाएको छ । भैरहवाको नयाँ शाखामा मात्रै हाल ४० कर्मचारी कार्यरत छन् भने आगामी दिनमा यो संख्या थप बढाउने योजना रहेको कम्पनीले बताएको छ ।

नयाँ शाखा विस्तारसँगै ट्रान्क्युलिटी स्पाले आधुनिक उपचार पद्धति र परम्परागत नेपाली विधिको संयोजनमार्फत नेपालको आतिथ्य तथा वेलनेस उद्योगलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्