काठमाडौं । संखुवासभामा निर्माण हुने ४४ मेगावाटको बकान खोला अर्धजलाशय जलविद्युत आयोजनामा ऋण लगानी जुटेको छ । समिट इनर्जी सोलुसन्स प्रालि प्रवर्धक रहेको यो आयोजनामा सानिमा बैंकको अगुवाइमा ६ अर्ब ८७ करोड रुपैयाँ लगानी जुटेको हो ।
आयोजनाको प्रवद्र्धक कम्पनी र लगानीकर्ता बैंकहरूबीच आइतबार वित्तीय व्यवस्थापन सम्झौता (फाइनान्सियल क्लोजर) भएको छ । सम्झौताअनुसार आयोजनामा अगुवाइ गरेको सानिमा बैंकले २ अर्ब ८७ करोड रुपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।
यस्तै, कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ तथा एनआईसी एसिया बैंकले पनि १ अर्ब ५० करोड रुपैयाँ आयोजनामा लगानी गर्ने प्रतिबद्धताअनुसार सम्झौता भएको छ । आयोजनामा नेपाल एसबिआई बैंकले पनि १ अर्ब रुपैयाँ लगानी गर्नेछ ।
आयोजना निर्माण सम्पन्न गर्न ९ अर्ब १६ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा वाणिज्य बैंकहरूले गर्ने ऋण लगानी कुल लगानीको ७५ प्रतिशत हो । बाँकी २५ प्रतिशत हुन आउने २ अर्ब २९ करोड रुपैयाँ स्वपुँजी लगानी प्रवद्र्धक कम्पनीले गर्नेछ ।
आयोजनाले विद्युत विकासबाट उत्पादन अनुमति लिने तथा विद्युत खरिद सम्झौता (पिपिए) गर्ने कार्य पहिले नै सम्पन्न गरेर वित्तीय व्यवस्थापनको प्रक्रिया सुरु गरेको थियो । वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै आयोजनाको संरचना निर्माणको काम अघि बढ्ने भएको छ ।
बकान खोला अर्ध-जलाशय प्रकृतिको आयोजना हो । आयोजनाले सुक्खायाममा दैनिक २ घण्टा ६ मिनेट पूर्ण क्षमता (पिकिङ) मा विद्युत उत्पादन गर्नेछ । आयोजनाको संरचना निर्माणको काम अगाडि बढाउन सिभिलतर्फको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।
आयोजना स्थलमा अहिले पहुँच सडक निर्माणको काम भइरहेको छ भने २०८३ जेठदेखि संरचनाको निर्माण सुरु गरेर २०८५ पुसभित्र सम्पन्न गर्ने लक्ष्य छ । आयोजना निर्माण सम्पन्न भई उत्पादन हुने विद्युत २२० केभी शीतलपार्टी सबस्टेसनमा जोड्ने गरी नेपाल विद्युत प्राधिकरणसँग प्रसारण सम्झौता भएको छ ।
आयोजनाको विद्युत शीतलपार्टी सबस्टेसनसम्म पुर्याउन विद्युतगृहदेखि सबस्टेसनसम्म ५५ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण गर्नुपर्ने कम्पनीले जनाएको छ । यो प्रसारण लाइन संखुवासभामा निर्माण हुने निजी क्षेत्रका अन्य जलविद्युत आयोजनाका प्रवद्र्धकसँग मिलेर संयुक्त रूपमा निर्माण गर्ने योजना छ ।