काठमाडौं । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज (फागुन १३ गते) ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले ८८ दिन अवधिको निक्षेप संकलनका लागि सूचना जारी गरेको हो ।
राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल गर्न सक्नेछन् । निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ ।
बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्म बोलकबोल आवेदन गर्न सक्नेछन् । निक्षेपको साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १० गते हुनेछ ।
किन उठाइन्छ निक्षेप ?
१. मुद्रास्फीति नियन्त्रण गर्न
जब बैंकिङ प्रणालीमा अत्याधिक नगद हुन्छ त्यसबेला ऋण विस्तार बढ्ने र त्यसले मुद्रास्फीतिमा चाप सिर्जना गर्ने जोखिम रहन्छ । अर्थात महँगी बढाउन सक्छ । यस अवस्थामा राष्ट्र बैंकले बैंक वित्त संस्थाबाट पैसा संकलन गरेर बजारबाट तरलता घटाउँछ । बजारमा पैसाको मात्रा घटाउँदा माग घट्छ र मूल्य स्थिर राख्न मद्दत हुन्छ ।
२. ब्याजदर स्थिर राख्न
बजारमा धेरै पैसा हुँदा ब्याजदर घट्न सक्छ । तर केन्द्रीय बैंकले बजारबाट पैसा तानेर अन्तरबैंक ब्याजदर सन्तुलनमा राख्छ र मौद्रिक नीति प्रभावकारी बनाउँछ ।
३. मौद्रिक नीति कार्यान्वयन
निक्षेप संकलन उपकरण खुला बजार कारोबारको एक हिस्सा हो । जसले केन्द्रीय बैंकलाई पैसाको आपूर्ति नियन्त्रण गर्न र वित्तीय स्थायितव कायम राख्न सहयोग गर्छ ।
बैंकहरुले निश्चित समयका लागि राष्ट्र बैंकमा पैसा राख्छन र ब्याज पाउँछन् ।