• Menu

भक्तपुर र ललितपुर सुनचाँदी व्यवसायी संघका पदाधिकारीसहित सम्पूर्ण कार्यसमिति सदस्यलाई सम्मान

नेपाल प्रफिट

२०८२ फागुन १०, २२:०५

भक्तपुर र ललितपुर सुनचाँदी व्यवसायी संघका पदाधिकारीसहित सम्पूर्ण कार्यसमिति सदस्यलाई सम्मान
बधाई तथा सम्मान ग्रहणपछि ललितपुर सुनचाँदी व्यवसायी संघ कार्यसमिति । साथमा काठमाडौंका अध्यक्ष रोहिनादेवी ।

काठमाडौं । भक्तपुर र ललितपुर सुनचाँदी व्यवसायी संघका पदाधिकारीसहित कार्यसमितिका सम्पूर्ण सदस्य सम्मानित भएका छन् । दुवै संघका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई काठमाडौं सुनचाँदी व्यवसायी संघले शनिबार नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा बधाई तथा सम्मान गरेको हो ।

कार्यक्रममा काठमाडौं सुनचाँदी व्यवसायी संघका अध्यक्ष रोहिनादेवी शाक्यले सुनको भाउ लगातार बढेर ३ लाख नाघिसकेको अवस्थामा सरकारले नगद कारोबारमा ५ लाख सीमा राखेर व्यवसायीलाई थप समस्यामा पारेको बताइन् ।

‘सुनचाँदीको मूल्यका कारण यसै पनि व्यवसाय चौपट छ,’ उनले भनिन्, ‘त्यसमाथि सरकारले अनेकन् कानुनी झन्झट थप्ने काम गरिरहेको छ । नगद कारोबारको ५ लाखको सीमा सुनचाँदी व्यवसायका लागि कति पनि व्यावहारिक छैन ।’

बधाई तथा सम्मान ग्रहणपछि भक्तपुर सुनचाँदी व्यवसायी संघ कार्यसमिति । साथमा काठमाडौंका अध्यक्ष रोहिनादेवी ।

वार्षिक अर्बौं रुपैयाँको कारोबार गर्ने र लाखौंले रोजगारी पाएको सुनचाँदी क्षेत्रका लागि छुट्टै कानुन नहुँदा पनि समस्या भएको उनले बताइन् । अध्यक्ष शाक्यका अनुसार विलासिता शुल्क र भ्याटका कारण अप्ठ्यारोमा परेका उपभोक्तालाई पनि नगद कारोबारको सीमाले थप अप्ठ्यारोमा पारेको छ ।

त्यस्तै ललितपुरका अध्यक्ष सुविन बज्राचार्यले बधाई तथा सम्मानका लागि काठमाडौं सुनचाँदी व्यवसायी संघप्रति आभार व्यक्त गर्दै सुनचाँदी क्षेत्रका समस्या निराकरणका लागि उपत्यकाका संघहरु एकजुट हुनुपर्ने बताए । भक्तपुरका अध्यक्ष विजेन्द्र शाक्यले सबै संघहरुको संयुक्त पहलबाट व्यवसायीका समस्या निराकरणमा बल पुग्ने विचार राखे ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी संघ काभ्रे शाखाका अध्यक्ष उमेश शाक्यलगायत पदाधिकारी पनि सहभागी रहेको काठमाडौंका सचिव लेखरत्न शाक्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्