काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालमा कच्चा खाद्यतेल आयात र प्रशोधित तेल निर्यात दुवै उल्लेख्य रूपमा वृद्धि भएको देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा ९३ अर्ब ७५ करोड ४६ लाख रुपैयाँ बराबरको कच्चा खाद्यतेल आयात भएको छ भने ७८ अर्ब १९ करोड ६१ लाख रुपैयाँ बराबरको प्रशोधित खाद्यतेल निर्यात भएको छ ।
कुल आयातमध्ये सबैभन्दा ठूलो हिस्सा कच्चा भटमास (सोयाबिन) तेलको छ । सात महिनामा ७० अर्ब ९९ करोड रुपैयाँ बराबरको ४४ करोड ८३ लाख ८७ हजार ४ सय ९४ लिटर कच्चा भटमास तेल भित्रिएको छ। त्यसैगरी ६६ अर्ब ७८ करोड ८७ लाख रुपैयाँ बराबरको ३२ करोड ४१ लाख १९ हजार २२ लिटर प्रशोधित भटमास तेल निर्यात भएको विभागले जनाएको छ ।
कुल निर्यातमा सबै प्रकारका खाद्यतेलको हिस्सा करिब ४६.५ प्रतिशत रहेको छ, जसमध्ये भटमास तेल एक्लैको हिस्सा करिब ४० प्रतिशत छ ।
गत आर्थिक वर्षको सोही अवधिमा ३८ अर्ब २९ करोड ७३ लाख रुपैयाँ बराबरको २५ करोड ९२ लाख ९५ हजार ३ सय ५३ लिटर कच्चा भटमास तेल आयात भएको थियो । त्यस्तै ३२ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ बराबरको १५ करोड ८१ लाख ३८ हजार ८ सय ३१ किलो प्रशोधित भटमास तेल निर्यात भएको थियो ।
तुलनात्मक रूपमा हेर्दा चालु आवमा कच्चा भटमास तेल आयात ८५.३८ प्रतिशतले बढेको छ भने प्रशोधित भटमास तेल निर्यात १०६ प्रतिशतले वृद्धि भएको छ ।
यस उल्लेख्य वृद्धिको मुख्य कारण भारतको भन्सार नीतिमा आएको परिवर्तनलाई मानिएको छ । भारत सरकारले ३० मे २०२५ मा कच्चा पाम तेल, सोयाबिन तेल र सूर्यमुखी तेलमा लाग्ने आधारभूत भन्सार शुल्क २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको थियो । तर प्रशोधित तेलमा ३५.७५ प्रतिशत शुल्क यथावत् राखिएको छ ।
यस नीतिगत अन्तरका कारण नेपालमा कच्चा तेल आयात गरी प्रशोधन गरेर भारततर्फ पुनः निर्यात गर्ने प्रवृत्ति बढेको देखिएको छ । यसअघि सेप्टेम्बर २०२४ मा भारतले स्वदेशी तेलबिउ किसानको संरक्षणका लागि कच्चा र परिष्कृत दुवै प्रकारका खाद्यतेलमा २० प्रतिशत आयात कर बढाएको थियो, जसले क्षेत्रीय व्यापारमा उतारचढाव ल्याएको थियो ।
विज्ञहरूका अनुसार भारतको भन्सार नीतिमा भएका परिवर्तनले नेपाल-भारत खाद्यतेल व्यापारमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । हाल देखिएको आयात-निर्यात वृद्धि दीर्घकालीन औद्योगिक उत्पादन विस्तारभन्दा पनि नीतिगत अन्तर र कर संरचनाको प्रभाव भएको विश्लेषण गरिएको छ ।