काठमाडौं । नेपाल र जापानबीच पर्यटन कूटनीतिलाई सुदृढ बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र जापानको वाकायामा प्रिफेक्चरबीच पर्यटन सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा सोमबार आयोजित कार्यक्रममा दुवै पक्षले संयुक्त पर्यटन प्रवर्धन, ज्ञान आदान-प्रदान तथा दगो पर्यटन विकासका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारीपत्रमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशी र वाकायामा प्रिफेक्चरका गभर्नर इजुमी मियाजाकीले हस्ताक्षर गरेका हुन् । यस समझदारीले संयुक्त पर्यटन प्रवर्धन तथा मार्केटिङ, पर्यटनसम्बन्धी सूचना र उत्कृष्ट अभ्यासको आदान-प्रदान, विज्ञ तथा अधिकारीहरूको भ्रमण आदान-प्रदान, सञ्चार तथा जनसम्पर्क सहकार्य र सांस्कृतिक रूपमा सम्मानजनक तथा दीगो पर्यटन प्रवर्धनलाई प्राथमिकता दिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले जापानबाट गभर्नर नेतृत्वको टोलीको नेपाल भ्रमणलाई स्वागतयोग्य कदम भन्दै नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षका सन्दर्भमा भएको यो सहकार्य दगो र उत्तरदायी पर्यटन प्रवर्धनका लागि महत्वपूर्ण हुने धारणा व्यक्त गरे । ‘दुवै देशले सांस्कृतिक विषयलाई उच्च महत्व दिएका छन् । ७० वर्षे कूटनीतिक सम्बन्धको सन्दर्भमा भएको यो सहकार्यले दीगो पर्यटनलाई बलियो आधार प्रदान गर्नेछ,’ उनले भने ।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपाल-जापानबीचको दीर्घकालीन सम्बन्ध स्मरण गर्दै यस समझदारीलाई पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक कदमका रूपमा व्याख्या गरे । उनले नेपाल र जापानबीच लामो समयदेखिको सम्बन्ध रहेको र हिमालयको देश तथा भगवान् बुद्धको जन्मस्थल नेपालका लागि बजार विविधीकरणका लागि यो समझदारी भएको बताए । ‘समझदारीका लागि यो उपयुक्त समय हो । यस समझदारीले साझा मूल्य र सहकार्यलाई एकीकृत गर्दै आगामी दिनमा सहयोग थप सुदृढ हुने विश्वास लिएको छु,’ उनले भने ।
वाकायामा प्रिफेक्चरका गभर्नर इजुमी मियाजाकीले इतिहास र संस्कृतिले समृद्ध नेपालसँग सहकार्य गर्न पाउँदा खुशी भएको बताए । ‘इतिहास र संस्कृतिले समृद्ध नेपालसँग समझदारी गर्न पाउँदा हामी खुशी छौं,’ उनले भने,‘ यस समझदारीले नेपाल र वाकायामाबीच पर्यटन प्रवद्र्धन थप सुदृढ हुने विश्वास लिएको छु ।’
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले जापानलाई नेपालको महत्वपूर्ण पर्यटन स्रोत बजारमध्ये एकका रूपमा उल्लेख गर्दै पछिल्लो समय जापानी पर्यटक आगमनमा करिब ८ प्रतिशत वृद्धि भएको बताए । उनल नेपाल विविध जीवन्त अनुभवहरूको गन्तव्य भएको हुँदा जापानसँग भएको यो समझदारीपत्र केवल औपचारिक सम्झौतामात्र नभई गन्तव्य, ज्ञान र अवसरलाई जोड्ने माध्यम हुने बताए । सझदारीले नेपाली पर्यटन बजारका लागि नयाँ सम्भावनाका ढोका खोल्ने पनि उनले बताए ।
समझदारी हस्ताक्षरको मितिदेखि लागू भई आपसी समझदारीका आधारमा कार्यान्वयन गरिने उल्लेख पर्यटन बोर्डले जनाएको छ । सहकार्यसम्बन्धी गतिविधिको समन्वयका लागि दुवै पक्षले सम्पर्क बिन्दु तोक्ने तथा खर्च आ-आफ्नै रूपमा व्यहोर्ने व्यवस्था गरिएको छ । कानुनी रूपमा बाध्यकारी नभए पनि पारस्परिक सद्भाव र विश्वासमा आधारित यो समझदारीले सात दशक लामो नेपाल-जापान सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउने विश्वास गरिएको छ ।