• Menu

आफ्टर १४ फेब्रुअरी : जब प्रत्येक दिन प्रेम दिवस बन्न सक्छ

नेपाल प्रफिट

२०८२ फागुन ३, ०७:३८

आफ्टर १४ फेब्रुअरी : जब प्रत्येक दिन प्रेम दिवस बन्न सक्छ

प्रेम दिवस आउँदा बजार र सामाजिक सञ्जाल राताम्मे हुन्छन् । फूल, चकलेट, उपहार र महँगा डिनरको चर्चा चारैतिर हुन्छ । धेरैले सोच्छन्, प्रेम देखाउन पैसा चाहिन्छ, खर्च गर्न सक्नेले मात्र प्रेमलाई विशेष बनाउन सक्छ ।

तर, समयले बारम्बार एउटा सत्य देखाएको छ, पैसाले क्षणिक खुसी दिन सक्छ तर साँचो प्रेमको गहिराइ भने पैसाले मात्र मापन गर्न सक्दैन । पैसाले फूल किन्न सक्छ तर त्यो फूलमा लुकेको भावना किनेर ल्याउन सक्दैन । पैसाले उपहार दिन सक्छ तर त्यो उपहारभित्रको विश्वास र आत्मीयता भने मनले मात्र सिर्जना गर्न सक्छ ।

आजको समाजमा प्रेमलाई पनि प्रतिस्पर्धाजस्तो बनाइँदैछ कसले कति खर्च गर्‍यो, कसले कति ठूलो सरप्राइज दियो । तर साँचो प्रेम त्यहाँ हुन्छ, जहाँ सानो समय, सानो ध्यान र साँचो साथले ठूलो अर्थ राख्छ ।

धेरै सम्बन्धहरू पैसाको चमकमा सुरु हुन्छन् तर टिकाइ मनको गहिराइले मात्र दिन सक्छ । प्रेम दिवसमा महँगो रेस्टुरेन्टमा बस्नुभन्दा कहिलेकाहीँ साधारण चिया सँगै पिउनु पनि धेरै मूल्यवान हुन सक्छ, त्यहाँ साँचो भावना छ भने । प्रेमलाई देखाउन पैसा एउटा माध्यम हुन सक्छ तर प्रेमको आधार भने सम्मान, विश्वास र समझदारी नै हो ।

आजको पुस्ताले बुझ्नुपर्ने कुरा के हो भने प्रेमलाई प्रदर्शन होइन, अनुभव बनाउनुपर्छ । महँगो उपहारले केही समय खुसी दिन सक्छ तर कठिन समयमा साथ दिने शब्द, सान्त्वना दिने अँगालो र बिना स्वार्थको साथले जीवनभर सम्झना बनाउँछ ।

प्रेम दिवस केवल खर्च गर्ने दिन होइन; यो सम्बन्धलाई सम्झने, मूल्यांकन गर्ने र अझ बलियो बनाउने अवसर हो । प्रेम दिवसमा पैसाले जे गर्छ, त्यो अरूले सायद गर्न नसक्ला तर साँचो प्रेमले जे गर्न सक्छ, त्यो पैसाले कहिल्यै गर्न सक्दैन ।

प्रेमको वास्तविक शक्ति उपहारको मूल्यमा होइन, मनको सच्चाइमा हुन्छ । हामीले प्रेमलाई खर्चको मापनबाट हटाएर भावनाको गहिराइमा हेर्न सक्याउ भने प्रत्येक दिन प्रेम दिवस बन्न सक्छ ।

हिजोआज फोटोको पोस्टरमा कति लाइक आयो, कति कमेन्ट आयो भनेर मापन गरिएको सम्बन्धले साँचो भावना देखाउँछ त ? कि क्याप्सनसहितको फोटो नै प्रमाण बनाएर ‘मैले माया गर्ने मान्छे यही हो’ भनेर दुनियाँलाई देखाउने एउटा चलन मात्र बनेको हो ?

कहिलेकाहीँ लाग्छ, हामीले मायालाई अनुभवभन्दा प्रदर्शनमा बदल्दै गएका छौँ । साँचो माया क्यामेराको फ्रेमभित्र सीमित हुन्छ कि कठिन समयमा नदेखिने साथ र समझदारीमा बाँचिरहेको हुन्छ ?

आज सामाजिक सञ्जालले सम्बन्धलाई एउटा स्टेजजस्तो बनाइदिएको छ, जहाँ खुसी देखाउन सजिलो छ तर पीडा लुकाउन अझ सजिलो छ । हामी क्याप्सनमा ‘फरइभर’ लेख्छौँ तर सम्बन्धलाई बलियो बनाउने धैर्य र जिम्मेवारी कति राख्छौँ ?

लाइक र कमेन्टले केही क्षणको उत्साह त दिन सक्छ तर ती अंकहरूले रातको एकान्तमा महसुस हुने आत्मीयता कहिल्यै दिन सक्दैन । फोटोमा मुस्कान देखिन्छ तर त्यो मुस्कानको पछाडि भएको संघर्ष, विश्वास र सहनशीलता भने प्रायः अदृश्य नै रहन्छ ।

सायद समस्या सामाजिक सञ्जालमा होइन, हाम्रो सोचमा हो । हामीले माया देखाउने माध्यमलाई नै माया सम्झन थालेका छौँ । साँचो प्रेम त्यहाँ हुन्छ जहाँ शब्दभन्दा व्यवहार बोल्छ, जहाँ उपहारभन्दा समय महत्त्वपूर्ण हुन्छ र जहाँ दुनियाँलाई देखाउनुपर्ने आवश्यकता महसुस हुँदैन ।

माया त्यति बेला गहिरो हुन्छ जब दुई जनाको सम्बन्ध बाहिरी प्रमाणको आवश्यकता बिना नै मजबुत रहन्छ । खोइ, मैले नबुझेको हो कि कसैले मलाई बुझाउन नसकेको हो तर मेरो मनले भने सधैं सोधिरहन्छ, माया देखाउनुपर्छ कि महसुस गराउनुपर्छ ? तर एउटा कुरा भने स्पष्ट छ, माया लाइकको संख्याले होइन, साथको निरन्तरताले मापन हुन्छ । सम्बन्धलाई फोटोले प्रमाणित गर्नुपर्छ भने सायद हामी अझै पनि मायाको वास्तविक अर्थ खोज्ने यात्रामै छौँ ।

१४ फेब्रुअरी सकिएपछि पनि प्रेम सकिँदैन; बरु त्यहीँबाट साँचो सम्बन्धको परीक्षा सुरु हुन्छ । फूल ओइलाउँछन्, क्याप्सन हराउँछन्, लाइक र कमेन्ट बिस्तारै हराउँदै जान्छन् तर दैनिक जीवनमा दिइने सानो ध्यान, समय र समझदारीले मात्रै सम्बन्धलाई दीर्घकालीन बनाउँछ । प्रेम दिवस एउटा मिति मात्र हो तर प्रेम भने निरन्तर व्यवहारमा देखिनुपर्छ ।

हामीले मायालाई प्रदर्शनभन्दा अनुभूतिमा बदल्न सक्यौं भने हरेक बिहानको शुभकामना, कठिन समयमा दिएको साथ र सामान्य क्षणमा बाँडिएको मुस्कान नै सबैभन्दा ठूलो उत्सव बन्न सक्छ ।

अन्ततः, जब प्रेमलाई पैसाको मूल्य वा सामाजिक सञ्जालको प्रमाणबाट होइन, मनको सच्चाइ र निरन्तर साथबाट मापन गर्न थालिन्छ त्यो बेला १४ फेब्रुअरी पछि पनि प्रत्येक दिन प्रेम दिवस बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्