काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी साओमीको स्वामित्वमा रहेको चर्चित स्मार्टफोन ब्रान्ड पोको नेपाली बजारमा औपचारिकरूपमा पुनरागमन गरेको छ । गेम खेल्न र बहुकार्य सञ्चालनका लागि युवामाझ लोकप्रिय पोकोको पुनरागमनले स्मार्टफोन बजारमा प्रतिस्पर्धा बढ्ने अपेक्षा गरिएको छ ।
तीन वर्षपछि टेलिटक प्राइभेट लिमिटेडसँग सहकार्य गर्दै पोकोले तीन अत्याधुनिक स्मार्टफोन सार्वजनिक गरेको हो । नयाँ विशेषतासहित सार्वजनिक गरिएको पोको एक्स७ प्रो ५जी, पोको एफ७ ५जी र पोको एफ८ प्रो ५जी मोडेलहरूमा छिटो र शक्तिशाली चिपसेट, लामो समय टिक्ने ब्याट्री तथा आधुनिक सुविधाहरू समावेश गरिएको कम्पनीले जनाएको छ ।
टेलिटकका कार्यकारी निर्देशक प्रतीक जालानले पोकोलाई पुनः नेपाली बजारमा ल्याउन पाउँदा उत्साहित भएको बताए, ‘नेपाली उपभोक्ताको दिनचर्या सहज बनाउनु पोकोको मूल उद्देश्य हो ।’
पोको एफ८ प्रोमा क्वालकमको स्न्यापड्रागन ८ एलिट (३ न्यानोमिटर) प्रोसेसर रहेको छ, जसमा अष्ट–कोर ४.३२ गिगाहर्ज संरचना छ । यसमा ६.५९ इन्चको आई–केयर एमोलेड प्रदर्शनपट (डिस्प्ले) रहेको छ, जसको पुनर्ताजगी दर १२० हर्ज छ ।
६२१० मिलिअम्पियर–घण्टा ब्याट्री, १०० वाट तीव्र चार्ज सुविधा, १२ गिगाबाइट ¥याम प्लस ५१२ गिगाबाइट भण्डारण क्षमता तथा एन्ड्रोइड १६ मा आधारित हाइपर ओएस थ्री सञ्चालन प्रणाली समावेश गरिएको छ । यो मोडेल टाइटेनियम सिल्भर, नीलो र कालो रङमा उपलब्ध छ ।
त्यस्तै पोको एक्स७ प्रोमा मिडियाटेक डाइमेन्सिटी ८४०० अल्ट्रा (४ न्यानोमिटर) चिपसेट छ, जसमा अस्ट–कोर ३.२५ गिगाहर्ज प्रोसेसर छ । ६.६७ इन्चको क्रिस्टलरेस एमोलेड प्रदर्शनपट (१२० हर्ज पुनर्ताजगी दर), ६००० मिलिअम्पियर–घण्टा ब्याट्री र ९० वाट हाइपरचार्ज सुविधा उपलब्ध छ ।
एण्ड्रोइड १५ तथा हाइपर ओएस २ मा आधारित यो उपकरण १२ गिगाबाइट ¥याम प्लस ५१२ गिगाबाइट भण्डारण क्षमतासहित आउँछ । यो कालो, हरियो र पहेंलो रङमा उपलब्ध हुनेछ । यसमा पनि आईपी६८ स्तरको सुरक्षा सुविधा छ ।
त्यसैगरी, पोको एफ७ मा क्वालकम स्न्यापड्रागन ८एस जेन ४ (४ न्यानोमिटर) प्रोसेसर छ, जसमा अस्ट–कोर ३.२१ गिगाहर्ज क्षमता छ । ६.८३ इन्चको १.५के एमोलेड अल्ट्रा–ब्राइट प्रदर्शनपट (१२० हर्ज), ६५०० मिलिअम्पियर–घण्टा ब्याट्री, ९० वाट तारयुक्त चार्ज तथा २२.५ वाट रिभर्स तारयुक्त चार्ज सुविधा उपलब्ध छ ।
एन्ड्रोइड १५ मा आधारित यो मोडेल १२ गिगाबाइट र्याम प्लस ५१२ गिगाबाइट भण्डारण क्षमतासहित उपलब्ध हुनेछ । स्टेरियो स्पिकर तथा वाइड र अल्ट्रावाइड लेन्ससहित क्यामेरा संयोजन रहेको यो मोडेल सिल्भर रङमा आउने कम्पनीले जनाएको छ ।
कम्पनीले पोको एक्स७ प्रो ५जीको मूल्य ५५ हजार ९९९ रुपैयाँ तोकेको छ । त्यस्तै, पोको एफ७ ५जीको ६९ हजार ९९९ र पोको एफ८ प्रो ५जीको मूल्य ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।