काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य वृद्धि भएको छ । साताभर घट्दो क्रममा रहेको बजार अन्तिम दिन हरियालीतर्फ फर्किएको हो ।
बिहीबार नेप्से करिब ९ अंकले बढेर २६७१.०७ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इन्डेक्स १.५१ अंकले उकालो लाग्दा फ्लोट इन्डेक्स ०.८५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५६ अंकले वृद्धि भएका छन् ।
कारोबार रकममा उल्लेख्य उछाल देखिएको छ । अघिल्लो दिन ८ अर्ब ६९ करोड रुपैयाँमा सीमित रहेको कारोबार बिहीबार बढेर ११ अर्ब १० करोड २५ लाख ५० हजार रुपैयाँ पुगेको छ । कुल ३३७ कम्पनीका २ करोड ७७ लाख ८० हजार कित्ता सेयर १ लाख ६ हजार १८ पटक खरिदबिक्री भएका छन् ।
मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै २८ रुपैयाँ ५० पैसा बढेर ३१३ रुपैयाँ ७० पैसामा बन्द भयो । रसुवागढी हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले बढ्दा खानी खोला हाइड्रोपावर ७ प्रतिशतले उकालो लागेको छ ।
कालिञ्चोक दर्शनको सेयर मूल्य सर्वाधिक ७.५९ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा ङादी ग्रुप पावर अग्रस्थानमा रह्यो, जसको ७० करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । एसवाई प्यानल नेपाल र रिडी पावर पनि उच्च कारोबार हुने कम्पनीमा परे ।
१३ मध्ये ८ उपसमूहको मूल्य बढेको छ । विकास बैंक सर्वाधिक १.१८ प्रतिशतले बढेको छ भने जलविद्युत करिब १ प्रतिशतले उकालो लागेको छ । अन्य केही उपसमूहमा सामान्य सुधार देखिएको छ ।
तर, होटल तथा पर्यटन उपसमूह १.६५ प्रतिशतले घट्दै सर्वाधिक गिरावटमा रह्यो । लघुवित्त, निर्जीवन बिमा, अन्य र व्यापार उपसमूहमा पनि सामान्य गिरावट देखिएको छ ।