काठमाडौं । निजी क्षेत्रद्वारा सञ्चालित वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले उडान अनुमति पाएको छ । २०८१ साउन ९ गते पोखरा उडानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएपछि निलम्बनमा परेको सौर्यले डेढ वर्षपछि उडान अनुमति पाएको हो ।
दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्यको एयरक्राफ्ट अपरेटर सर्टिफिकेट (एओसी) अनिश्चितकालका लागि निलम्बन गरेको थियो । सी-चेक अर्थात् विस्तृत निरीक्षणका लागि काठमाडौंबाट पोखराका लागि उडेको जहाजमा रहेका १९ यात्रुमध्ये क्याप्टेन मनिष शाक्यबाहेक सबैको ज्यान गएको थियो ।
प्राधिकरणले माघ ४ गते एओसी नवीकरण गरी निलम्बन फुकुवा गरेको हो । सौर्यलाई प्राधिकरणले चन्द्रगढी विमानस्थल, विराटनगर विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय एयरपोर्ट, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज विमानस्थल र धनगढी विमानस्थलमा नियमित तथा वैकल्पिक उडान अनुमति दिएको छ ।