काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल भुक्तानी सेवाप्रदायक संस्था इसेवासँगको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ शीर्षकमा म्यादी जीवन बिमा योजना सार्वजनिक गरेको छ । अप्रत्यासित घटनाका कारण परिवारमा पर्न सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित नेपाल लाइफले ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ योजना बजारमा ल्याएको हो ।
जीवनको अनिश्चितता र बढ्दो आर्थिक दायित्वलाई मध्यनजर गर्दै तयार गरिएको यस योजनाले न्यून प्रिमियम दरमै उच्च बिमा सुरक्षा उपलब्ध गराउनेछ । विशेषगरी सीमित आम्दानी भएका तथा पहिलो पटक जीवन बिमा लिन चाहने वर्गका लागि यो योजना अत्यन्तै उपयोगी हुने कम्पनीको अपेक्षा छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सुपर टर्म लाइफ इन्स्योरेन्स योजनाले संकटको समयमा परिवारलाई पर्याप्त आर्थिक सहारा प्रदान गर्ने बताए । सहज, सुलभ तथा किफायती प्रिमियममा उपलब्ध यस योजनामार्फत सबै वर्गका नागरिकलाई जीवन बिमाको पहुँचमा ल्याउने लक्ष्यका साथ यो योजना सार्वजनिक गरिएको उनले बताए ।
यो एक बर्से टर्म लाइफ इन्स्योरेन्स योजनाको प्रिमियम वार्षिक ७२५ रुपैयाँबाट सुरु हुनेछ । बिमितले ५ लाखदेखि २० लाखसम्मको जीवन बिमा सुरक्षा प्राप्त गर्न सक्नेछन् । १८ देखि ६० वर्षसम्मका नागरिकले यो बिमा योजना लिन सक्ने कम्पनीले जनाएको छ ।