प्रोफाइल
काठमाडौं । नेपाल प्रहरीको जिम्मेवारीमा रहेर देशका कुनाकन्दरा विचरण गरिरहँदाका स्मृतिहरुले शम्भु सुस्केरालाई कुशल नेतृत्वको खोजीका लागि अभिप्रेरित गरिरहन्थे । २०७२ सालमा साहित्य यात्राको दोस्रो कृति सरोगेट लोग्ने कथासंग्रहभित्रको एउटा कथा ‘मृत्युलोकमा सेमिनार’मा उनले देश बनाउने नायकको परिकल्पना गरे ।
देशले भोगेको पीडालाई नजिकबाट अनुभव गरेका शम्भुले कथासंग्रह सार्वजनिक भएको पाँच वर्षपछि २०७७ माघमा २२ वर्ष लामो जागिरे जीवनबाट बिदा लिए । त्यसपछिका उनका १७ महिना ‘नायक’ खोज्नमै बित्यो । २०७९ असार ७ गते काठमाडौंको राष्ट्रिय सभागृहबाट तत्कालीन सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेपछि उनलाई देशले नायक पाएको अनुभूत भयो ।
‘पार्टी घोषणा हुँदै गर्दा म अत्यन्तै उत्साहित थिएँ,’ कान्तिमय भावभंगीमा उनले भने, ‘किनकि मृत्युलोकमा सेमिनार कथाले परिकल्पना गरेको नयाँ पुस्ताले देश सम्हाल्ने युगको प्रमुख पात्र बनेर रवि लामिछाने आएका थिए र त्यसको परिकल्पनाकार थिएँ म । त्यो सपना, त्यसका सर्जक र नायक एकसाथ उभिनुपर्छ भन्ने निश्चयका साथ रास्वपामा लागेको हुँ ।’
पार्टी घोषणा भएपछि बल्ल सभापति लामिछानेसँग उनको दोहोरो चिनजान भयो । रविसँग सपना थिए, नागरिकको भरोसा थियो तर नेतृत्व पंक्तिमा साथ दिने पात्रहरु निकै कम थिए । शम्भु जस्ता धेरै सच्चा सहयात्री उनलाई चाहिएकै थियो ।
शम्भुले काठमाडौं ४ बाट प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिने सोच बनाए । तर, रविसहितका नेताले आफ्नै निर्वाचन क्षेत्र झापा ४ मै जान सुझाव दिए । ‘रास्वपालाई राजधानीबाहिर फैलाउन हामीजस्ता योद्धाको योगदान अपरिहार्य रहने बुझेपछि सभापतिज्यूको सुझाव मैले सहर्ष स्वीकार गरेँ,’ उनले भने ।
सभापति लामिछानेको भरोसा र शम्भुको आत्मविश्वास अहिले साकार बन्दै गएको छ । कुनै बेला उम्मेदवार पाउनसमेत मुस्किल अवस्थामा रहेको रास्वपा यतिखेर उम्मेदवार छान्नुपर्ने दबाबमा छ । रास्वपाको सदस्य बन्न र रास्वपा भन्न हिच्किचाउनेहरु खुलेआम झन्डा बोकेर बाहिर निस्किन थालेका छन् ।
यावत् प्रतिकूलताका बीच २०७९ मंसिर ४ गते भएको निर्वाचनमा झापा ४ बाट १४ हजार ६९ मत ल्याएर पुराना दलहरुको निदहराम गरिदिएका थिए उनले । त्यो नतिजाले उनलाई चुनाव बुझ्न मद्दत गर्यो । राजनीति सिकायो ।
पहिलो चुनावी हारलाई नै उनले जितको खुड्किलो मानेर अघि बढ्ने संकल्प गरे । ‘त्यसपछि दिनरात नभनी पार्टी निर्माणमा जुट्यौँ,’ शम्भु सम्झन्छन्, ‘अहिले पनि २०७९ को चुनावताकाकै जसरी खटिइरहेका छौँ ।’ रास्वपाका झापा जिल्ला कार्यबाहक सभापति प्रकाश पाठक पनि उत्तिकै जोसिला छन् । उनीहरुको मिल्दो क्यामेस्ट्रीले पनि झापालाई रास्वपामय बनाउने ठुलो सहयोग पुगेको छ ।
२०८१ पुसमा शम्भुले जिल्ला सचिव र प्रकाशले कार्यबाहक सभापतिको जिम्मेवारी सम्हाल्दा झापामा पार्टी सदस्यको संख्या ४५ सय पुगिसकेको थियो । एक वर्षभित्र त्यसलाई दुई गुणा बनाउने लक्ष्य उनीहरुले लिए । ‘तर तीन गुणाले बढ्यो,’ उनी भन्छन्, ‘झापाका १५ वटा पालिकामध्ये ११ वटाको अधिवेशन सकिएको छ, १३१ वटा वडामध्ये १०७ वटामा कमिटी गठन भइसकेका छन् ।’
शम्भुले झापा ४ मा रास्वपाको ठुलो सञ्जाल विस्तार गरिसकेका छन् । उनकै सक्रियतामा कनकाई नगरपालिकामा ८५९, झापा गाउँपालिकामा ३१०, शिवसताक्षी नगरपालिकामा एक हजार २५६ र गौरीगन्जका तीनवटा वडामा १३३ गरी दुई हजार ५५८ जनाले सदस्यता लिएका छन् ।
चुनावको तयारी
शम्भुले यसपटक प्रतिनिधिसभामा पुग्ने सपना देखिसकेका छन् । बदलिँदो राजनीतिक परिदृश्यले उनलाई थप साथ दिएको छ । सभापति लामिछाने र बालेन्द्र शाह (बालेन), जसको पृष्ठभूमिमा भदौ २३ र २४ मा जेन–जी आन्दोलन भयो, ती शक्ति यतिबेला एक भएर अघि बढेका छन् । देशव्यापी माहोल रास्वपाको पक्षमा छ । जेन–जी आन्दोलनपछि गठित नागरिक सरकार फागुन २१ मा निर्वाचन गराउन कटिबद्ध भएर लागिरहेको छ ।
पुराना दलहरु नेकपा (एमाले), नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका नेताहरुका अत्तालिएका अभिव्यक्ति सार्वजनिक भइरहेका छन् । रास्वपाको दबदबालाई रोक्न उनीहरु गठबन्धन गरेर चुनाव लड्नेसम्मको तयारीमा छन् । ‘तर नागरिकले उनीहरु किन गठबन्धनको तयारीमा छन् र रास्वपालाई किन रोक्न चाहन्छन् भन्ने राम्रोसँग बुझेका छन्,’ शम्भु भन्छन्, ‘अब उनीहरुको केही चल्नेवाला छैन ।’
देश बनाउने संकल्प
नागरिकको नजरमा नेपालका सबै सरकारी अड्डा भ्रष्टाचारको दलदलमा छन् । प्रहरी प्रशासन पनि यसबाट अछुतो छैन । यो आरोपलाई उनी सहर्ष स्विकार्छन् । ‘घुस खानभन्दा नखान कठिन पेसामा रहेर २२ वर्ष देशको सेवा गरेँ,’ शम्भु भन्छन्, ‘आर्थिक अनुशासनमा बसेरै निवृत्त भएँ, अब पनि इमान र नैतिकता बेच्ने छैन । संसद र सरकारको निर्णायक तहमा पुगेँ भने देश र जनताको समृद्धिको सपना तुहिन दिन्न, मबाट धोका हुँदैन ।’
गुटगत राजनीति र राजनीतिज्ञमा नैतिकताको संकटले नै नेपाली युवा सम्भावना नदेखेर देश छाड्न विवश भएको उनको बुझाइ छ । ‘यो संकटलाई रोक्ने पात्र म पनि हो,’ उनी भन्छन्, ‘यो युगको निराशालाई चिरेर आशा भर्ने पात्र बनेर मात्र मर्ने मन छ ।’
भू-राजनीति र योग साधना
शम्भु सुस्केरा उनको साहित्यिक नाम हो । राजनीतिमा लागेपछि मात्र शम्भु ढकालको नामबाट धेरै माझ चिनिए । तर, उनी साहित्य र राजनीतिमा मात्र छैनन् । उनको आफ्नै पेसा छ । आफ्नै प्रकारको दिनचर्या छ । उनी योग साधक पनि हुन् । योग साधना केन्द्रमा १० वर्षदेखि नियमित साधना गरिरहेका छन् । योगाभ्यास पनि गराउँछन् ।
योग साधनामार्फत नै विश्व समुदायको ध्यान नेपालमा खिच्न सकिने उनको विश्वास छ । ‘संसारका विकसित देश र तिनका राष्ट्र प्रमुखहरुलाई योग साधनाकै लागि नेपाल ल्याउन सकिन्छ,’ उनी भन्छन्, ‘नेपालको आर्थिक विकास र पर्यटन प्रवर्धनको यो एउटा बलियो आधार बन्न सक्छ ।’
भू-राजनीतिको भासमा फसेको नेपालले योग व्यवसाय र योग पर्यटनबाट आर्थिक क्षमता बढाउन सक्ने उनको तर्क छ । ‘भू-राजनीति योग व्यवसाय र योग पर्यटनका लागि बाधक बन्न सक्दैन अपितु सहयोगी बन्नेछ,’ शम्भु विश्वासका साथ भन्छन् ।
प्रहरी सेवामा रहँदा उनले एक वर्ष सुडानको शान्ति स्थापनाका लागि काम गरे । सुडान र पूर्वी अफ्रिकी मुलुकको कथा देखेर उनी थप पिरोलिए । ‘नेपाल अत्यन्तै सम्भावना भएको देश हो तर कतै हामी पनि भू-राजनीतिक दलदलमा फस्ने त होइनौँ ?’ उनी यही तर्कनाले द्रवित हुन्थे ।
त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातक र राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका शम्भु पेसाले किसान हुन् । उनले व्यावसायिक बेसारखेती गरेका छन् । अरु किसानका समस्यासँग साक्षात्कार गरेका छन् । समाधानका उपायहरु खोजेका छन् । अनि कृषि र पशुपालनबाट देशको समृद्धिका बारेमा व्यावहारिक अध्ययन गरिरहेका छन् ।
सभापति लामिछानेमै जस्तो हुटहुटी उनीसँग छ । तीव्र गतिमा देश विकास अभियानमा समर्पित हुने चाहना पालेका छन् । लामिछानेको अठोट, ऊर्जा र तीव्रतासँग नतमस्तक छन् । भन्छन्, ‘१६औँ शताब्दीका जापानीहरुले झैँ काम गर्न मन छ, देश बनाउने यो पुस्ता र यो युगको नाम लेखाएर मात्र मर्न मन छ ।’
यो पनि पढ्नुहोस्
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal