प्रोफाइल
काठमाडौं । २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा नआउँदासम्म तत्कालीन सञ्चारकर्मी रवि लामिछाने ग्यालेक्सी टेलिभिजनलाई नेपाली सञ्चार जगतको ‘नम्बर वान’ मिडिया हाउस बनाउने योजनामै थिए ।
तीन-चार वर्षमा टेलिभिजनलाई स्थापित गर्ने र २०८४ सालको आम निर्वाचनमा केन्द्रित भएर सशक्त ढंगको तयारी गर्ने मनसुबा उनको थियो । तर, स्थानीय निर्वाचनमा धरानबाट हर्क साम्पाङ, काठमाडौंबाट बालेन्द्र शाह (वालेन) अनि धनगढीबाट गोपी हमालले छलाङ लगाएपछि लामिछानेको इरादा हठात् बदलियो ।
झन्डै तीन सय सञ्चारकर्मीको भरोसा उनीमाथि थियो । तर, राजनीतिको कसिंगर बढार्ने उनको अठोटका अगाडि ती सबैका भरोसा फिक्का सावित भए ।
जेठ १२ मा वालेन महानगर प्रमुख निर्वाचित भए । त्यसको एक महिना नबित्दै असार ७ मा लामिछानेले राष्ट्रिय सभागृहबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उद्घोष गरे ।
मंसिर ४ का लागि निर्वाचनको मिति घोषणा भइसकेको थियो । चार महिनाको अवधिमा केही थान सांसद प्रतिनिधिसभामा पुर्याउनुपर्ने चुनौती उनीसामु थियो । लामिछाने जनमत छ भन्नेमा विश्वस्त थिए । तर, उनको पदचापलाई पछ्याउँदै नेतृत्वदायी जिम्मेवारीका साथ पाइला अघि सार्न हिम्मत गर्नेहरुको समूह निकै सानो थियो ।
र, त्यही सानो सूचीभित्र थिए- झापाको राजगढका प्रकाश पाठक पनि ।
दिनहरु बित्दै थिए । निर्वाचनको मिति नजिकिँदै थियो । समयको दबाब तीव्र थियो । यस्तै दबाबका बीच प्रकाशले असार २९ गते टेलिभिजनमा राजीनामा बुझाए र ३० गते नै झापा हान्निए ।
विल्कुल नयाँ पार्टीबाट राजनीतिक यात्रा अघि बढाउनु सामान्य चुनौतीको विषय थिएन । अनेकन् संशय र अन्योलले उनलाई थिचेको प्रतित हुन्थ्यो । ‘जीवनमा कहिल्यै राजनीति गर्छु जस्तो लागेको थिएन,’ राजीनामा दिने अघिल्लो साँझ उनले गम्भीर भावमा भनेका थिए, ‘समयले डोहोर्यायो, अब अघि बढ्ने अठोट गरेँ, पार लगाएरै छाड्छु ।’
घर पुगेकै दिन विश्राम नगरी सिधै जिल्ला भेलामा सहभागी भए । बिर्तामोडको अग्रसेन भवनमा भएको पहिलो जिल्ला भेलाले उनलाई सचिव चयन गर्यो । भोलिपल्ट गाउँ घुमे । निर्वाचन क्षेत्रका बारेमा अध्ययन गरे । स्थायी थातबास रहेकै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट उनी उम्मेदवारी दिने विचारमा थिए ।
जिल्ला भेला सकेर साउन १ गते काठमाडौं आए । सोही दिन ग्यालेक्सी टेलिभिजनको कार्यालयमा जन्मदिन मनाए अनि फरक गन्तव्यका लागि शुभाशिष लिँदै साथीहरुसँग बिदा भए । साउन ३ गते नै उनी स-परिवार ट्रकमा झापा फर्किए ।
मन जित्ने चुनावी प्रचार
झापा ३ नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीको सांगठनिक संरचना निकै बलियो भएको निर्वाचन क्षेत्र हो । जहाँबाट २०७४ सालको निर्वाचनमा एमाले र तत्कालीन नेकपा (माओवादी) केन्द्रको सहयोगमा राप्रपाका राजेन्द्र लिङ्देन निर्वाचित भएका थिए ।
पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा सो क्षेत्रबाट कांग्रेसका केशवकुमार बुढाथोकीले चुनाव जितेका थिए । २०७९ मंसिरको निर्वाचनका लागि माओवादी केन्द्र र कांग्रेसले गठबन्धन गर्दै गर्दा एमालेले राप्रपा अध्यक्ष लिङ्देनलाई नै सहयोग गरेको थियो ।
प्रकाश करिब १५-१६ जना रास्वपा समर्थकलाई लिएर प्रचारमा जुटे । पार्टी संगठन थिएन । अझ भनौं सदस्य नै थिएनन् । रास्वपाको सदस्यता लिन मानिसहरु हिच्किचाउँथे । ठुलै गल्ती पो हुने हो कि जस्तो गर्थे ।
प्रकाशले उम्मेदवारी घोषणा गर्दासम्म पनि रास्वपाका पार्टी सदस्यको संख्या डबल डिजिट नाघेको थिएन । मंसिर ४ को निर्वाचनमा नतिजा पनि त्यही अनुसार आयो । लिङ्देनले ४० हजार ६६२ मतसहित जित हात पार्दा कांग्रेसका कृष्ण सिटौलाले ३७ हजार ३८६ मत ल्याए । प्रकाशले ३ हजार ४६१ मतदाताको मन जिते ।
बदलियो समय, बदलियो चेत
झापा ३ मा रास्वपाले हार्यो तर प्रकाशले हारेनन् । बरु ३४ सय मत जतन गरेर अघि बढ्ने निधो गरे ।
‘झापा ३ जस्तो पुराना पार्टीको गढ भएको ठाउँमा चार महिना मेहनत गरेर जितिँदैन भन्नेमा म पहिल्यै विश्वस्त थिएँ,’ उनी भन्छन्, ‘त्यही भएर २०७९ असार ३० देखि नै २०८४ को तयारी गरिरहेको थिएँ ।’
समय कसैको वशमा हुँदैन । रास्वपा र प्रकाशले निर्धारण गरेभन्दा पहिला नै २०८४ आइदियो । अर्थात्, भदौ २३ र २४ को जेन-जी आन्दोलनले निर्वाचनलाई दुई वर्षअघि तानिदियो ।
आन्दोलनबाट कांग्रेस र एमालेको दुई तिहाइनजिकको गठबन्धन अपदस्त भएपछि बनेको नागरिक सरकार २०८२ फागुन २१ को तयारीमा छ । र, यो निर्वाचनमा प्रकाश पुराना शक्तिहरु कांग्रेस, एमाले, नवगठित नेपाली कम्युनिस्ट पार्टी र राप्रपाका लागि बलियो चुनौती बनेर उभिएका छन् ।

तीन वर्षको मेहनत
निर्वाचनपछिका तीन वर्षमा झापा ३ मा प्रकाश ‘रास्वपाको सच्चा सारथी’ बनेर उदाएका छन् ।
झापा ३ मा कचनकवल गाउँपालिकाका सातवटै, हल्दीबारी गाउँपालिकाका पाँचवटै र बाह्रदशी गाउँपालिकाका सातवटै वडा पर्छन् भने बिर्तामोड नगरपालिकाका १० वटा वडामध्ये वडा नम्बर १० मात्र पर्छ । भद्रपुर नगरपालिकाका १० वटा वडामध्ये १ देखि ८ सम्म झापा ३ मा पर्छन् ।
यो अवधिमा उनले झापा ३ का २८ वटा वडामध्ये २० वटामा अधिवेशन गराएका छन् भने पार्टी सदस्यको संख्या निकै ठुलो भइसकेको छ । २०७९ मा चुनावी प्रचारप्रसारमा होमिँदा करिब शून्य सदस्यको स्थितिमा रहेका उनी अहिले झापा ३ मा मात्रै ५८ सयभन्दा बढी पार्टी सदस्यको नेतृत्व गरिरहेका छन् । जिल्लाभरको पार्टी सदस्य संख्या निकै ठुलो छ ।
‘तीन वर्षको अवधिमा भद्रपुरमा २१ सय, बाह्रदशीमा १३ सय, कचनकवलमा ११ सय, हल्दीबारीमा ७ सय र बिर्तामोडको एउटै वडामा ६ सयभन्दा पार्टी सदस्य बनाउन सफल भइयो,’ गर्वसाथ उनले भने, ‘अरु वडामा पनि चाँडै अधिवेशन हुँदैछ ।’ संगठन विस्तारमा उनको योगदान अतुलनीय नै छ ।
पार्टीमा भूमिका
प्रकाश व्यवस्थापनका विद्यार्थी हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका छन् । तर, जागिर खानुपर्ने बाध्यताका बीच २०६३ सालमा उनी साह्रै रहर लागेको पेसा पत्रकारितामा होमिए ।
दमकस्थित पाथिभरा एफएमबाट उनको पत्रकारिता यात्रा आरम्भ भयो । त्यसपछि हिमाल एमफएम, रेडियो अन्नपूर्ण र रेडियो कान्तिपुर हुँदै ग्यालेक्सी टेलिभिजनबाट बिदा लिँदा उनले करियरको महत्वपूर्ण १४ वर्ष बिताए ।
राजनीतिमा होमिएपछि पनि उनले पाएको जिम्मेवारीको ग्राफ लोभलाग्दो छ । इमानदारीपूर्वक मेहनत गरिरहेका प्रकाश दुई वर्षको अवधिमै जिल्ला सचिवबाट कार्यबाहक जिल्ला सभापति बन्न सफल भएका छन् ।
असार ३० मा जिल्ला सचिव बने । २०८१ पुस १७ गतेको दोस्रो जिल्ला भेलाबाट जिल्ला उपसभापतिमा निर्वाचित भए । २०८१ फागुन ११ देखि कार्यबाहक जिल्ला सभापतिको भूमिकामा छन् ।
उनी दिनभर पार्टीको काम र संगठन विस्तारमै केन्द्रित रहन्छन् । ‘विगतमा एक जना पार्टी सदस्य थपिँदा ठुलै युद्ध जिते जस्तो लाग्थ्यो,’ उनी भन्छन्, ‘हिजोआज दैनिक १०-१५ जनाका दरले थपिइरहेका छन्, निकै खुसी लाग्छ ।’
उनी हरेक दिन नागरिकसँगै हुन्छन् । उनीहरुका कुरा सुन्छन् । आफ्नो लक्ष्य र योजना सुनाउँछन् । उनलाई सधैं राजनीति गरिरहनु पनि छैन । भन्छन्, ‘यहाँबाट निर्वाचित भएर एउटा कार्यकालका लागि प्रतिनिधिसभा सदस्य बन्ने लक्ष्य छ, आगामी पुस्तालाई हामी नेतृत्व गर्न सक्दैनौं, त्यही पुस्ताबाट हामीले नयाँ नेतृत्व तयार पार्नुपर्छ ।’
बहुदलयता अहिलेसम्म कांग्रेस र एमालेमा एउटै नेताले राज्यसत्ता ओगटेर बसिरहेको देखेका, भोगेका झापाबासीलाई प्रकाशको लोकतान्त्रिक विचारले निकै प्रभावित बनाउने गरेको छ । ‘झापा ३ ले धेरै र प्रभावशाली केन्द्रीय नेतृत्व पायो तर उनीहरुबाट नीति निर्माणमा नागरिकका आवाज संसदसम्म पुर्याउने भूमिका न्यून रह्यो,’ राजगढका कमल मैनाली भन्छन्, ‘प्रकाशजीले हाम्रो सही प्रतिनिधित्व गर्नुहुन्छ भन्नेमा विश्वस्त छु ।’
रास्वपामा बालेन र कुलमानसँगको एकताको प्रभाव अहिले देशभर परेको छ । झापा ३ पनि यसबाट अछुतो रहने कुरा भएन । ‘संगठन विस्तारमा तीव्रता आउँछ कि आउँदैन त्यो हेर्न बाँकी छ,’ प्रकाश भन्छन्, ‘तर नयाँ शक्तिहरुबीचको एकताले मनोवैज्ञानिक रुपमा सकारात्मक प्रभाव भने परेको छ ।’
गज्जबको संयोग के भने- तीन वर्षअघि नै राजनीतिमा जान वालेन शाहहरुको रापताप रविका लागि उत्प्रेरक बनेको थियो । तीन वर्षपछि वालेनलाई राजनीतिज्ञ बनाउन रविहरु उत्प्रेरक बनेका छन् । रवि, वालेन र रास्वपाका लागि प्रकाशहरुको मेहनत र निष्ठा पार्टीलाई गन्तव्यमा पुर्याउने ‘आधारस्तम्भ’ बनेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal