• Menu

विचार

नयाँ नेतृत्वप्रतिको जनअपेक्षा : परिवर्तन कि विकल्प मात्र ?

नेपाल प्रफिट

२०८२ पुस १४, १४:१८

नयाँ नेतृत्वप्रतिको जनअपेक्षा : परिवर्तन कि विकल्प मात्र ?

नेपालको समकालीन राजनीति अहिले एउटा निर्णायक मोडमा उभिएको छ । लामो समयदेखि शासन गर्दै आएका परम्परागत दलप्रति जनआक्रोश बढिरहेको छ भने अर्कोतर्फ ‘नयाँ’ भनेर चिनिने अनुहारहरूबाट जनताले असाध्यै ठूलो अपेक्षा राखेका छन् । यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र बालेन शाहबीचको सहकार्यले जन्माएको आशा, भरोसा र भविष्यको राजनीतिक सम्भावनाबारे देशव्यापी बहस चलिरहेको छ ।

रवि र बालेन दुवै स्थापित राजनीतिक संस्कृतिबाट बाहिर उभिएका पात्र हुन् । उनीहरूमा साझा कुरा के छ भने- उनीहरू जनताबाट प्रत्यक्ष आक्रोशको प्रतिनिधित्व गर्छन् र उनीहरूको उदय दलभन्दा व्यक्तिमा आधारित विश्वासमा अडेको छ ।

तर, यही ठाउँमा एउटा गम्भीर प्रश्न उठ्छ !

के व्यक्तिको लोकप्रियताले मात्र देश बन्छ ?

इतिहासले देखाएको छ कि व्यक्ति जति नै सक्षम भए पनि यदि संरचना, संस्था र संगठन बलियो भएन भने त्यो परिवर्तन दीर्घकालीन हुँदैन । जति नै लोकप्रिय भए पनि यदि चुनावमा पर्याप्त सिट आएन भने सत्ता अन्ततः उही पुराना दलहरूको हातमा पुग्छ । यही डर अहिले धेरैले व्यक्त गरिरहेका छन् ।

‘नयाँ अनुहार आए पनि सरकार त फेरि उही पुरानै दलले बनाउने हुन्’ यो डर निराधार छैन । नेपालको संसदीय इतिहासले देखाउँछ कि विचारभन्दा संख्या भारी पर्छ । यही कारणले नयाँ शक्तिहरूको लोकप्रियता सडक र सामाजिक सञ्जालमा सीमित भएर संसद्‌मा अनुवाद हुन सकेन भने परिणाम निराशाजनक हुन्छ ।

‘जेलिन्स्की मोडेल’को भ्रम र नेपाली यथार्थ

रवि-बालेन मिलनलाई कतिपयले युक्रेनका भोलोदिमिर जेलेन्सकीको उदयसँग तुलना गरिरहेका छन् । तर, यो तुलना भावनात्मक रूपमा आकर्षक भए पनि संरचनागत रूपमा कमजोर छ ।

युक्रेनमा-

स्पष्ट युद्धकालीन शत्रु थियो,

एकीकृत राष्ट्रिय एजेन्डा थियो र

राष्ट्रपतीय प्रणाली थियो ।

नेपालमा भने-

शक्ति बहुल व्यवस्था छ,

दलविहीन शासन सम्भव छैन र

संसद्‌मा संख्या (जनादेश) नै अन्तिम निर्णायक हो ।

त्यसैले, ‘जेलिन्स्की जस्तै हुन्छ’ भन्ने कल्पना राजनीतिक रोमान्टिसिज्म मात्र हुन सक्छ ।

हर्क साम्पाङ र कुलमान उदाहरण : व्यक्ति चम्किन्छ, संरचना फेरिँदैन

नेपालमा सुधारको सबैभन्दा चर्चित उदाहरण कुलमान घिसिङ हुन् । लोडसेडिङ अन्त्य गरेर उनले जनतामाझ असाधारण भरोसा र लोकप्रियता कमाए ।

तर, जब यही उज्यालो अभियानलाई राजनीतिक रूपान्तरण गर्दै ‘उज्यालो नेपाल पार्टी’ को उदय गराइयो र उनले मन्त्रीको ‘हट सिट’ सम्म पुगेर गरेका काम-कारबाहीबारे हिजोआज हामीले देख्न र सुन्न थालेका छौं । त्यहीँबाट एउटा कठोर यथार्थ प्रस्ट हुन्छ; व्यक्तिगत लोकप्रियता मात्र राजनीतिक संरचना बदल्न पर्याप्त हुँदैन । अब यदि उनले यही गति र प्रतिबद्धता भविष्यसम्म निरन्तर रूपमा कायम राख्न सकेनन् भने त्यो ‘उज्यालो अभियान’ व्यक्तिसँगै सीमित रहनेछ भन्ने संकेत प्रस्ट देखिन्छ ।

धरानका मेयर हर्क साम्पाङले श्रम, आत्मनिर्भरता र स्थानीय स्वशासनको कडा एजेन्डा अघि सारेका छन् । तर, उनको सार्वजनिक अभिव्यक्ति, विशेषतः सामाजिक सञ्जालका नियमित पोस्टहरूले देखाउँछ कि उनी कुलमान, रवि वा बालेनसँग सहज रूपमा मिल्ने अवस्थामा छैनन् ।

यसले स्पष्ट सन्देश दिन्छ- एक व्यक्तिले सिस्टम सुधार्न सक्छ तर संरचना, संस्था र शक्ति-सन्तुलन नफेरिएसम्म त्यो व्यक्ति स्वयं टिक्न सक्दैन । यदि नयाँ राजनीतिले यही पाठ आत्मसात् गर्न सकेन भने आज देखिएको आशा भोलि फेरि उही निराशामा रूपान्तरण हुने जोखिम रहिरहन्छ ।

नयाँ राजनीतिक शक्तिहरूको एकीकरणमा देखिएको किरण जसले संकेत गर्छ कि ‘नयाँ’ भनिने शक्तिहरू पनि एकीकृत छैनन्,

एउटै एजेन्डामा सहमति छैन,

नेतृत्वको शैली फरक-फरक छ र

अन्ततः यहाँ प्रस्ट देखिन्छ,लडाइँ उही कुर्सीकै वरिपरि रहेछ ।

तर, एकता बिना विकल्प बलियो हुँदैन ।

नेपाललाई नयाँ राजनीति चाहिएको छ, यसमा दुई मत छैन । तर त्यो राजनीति-

व्यक्तिमुखी होइन, संस्थामुखी हुनुपर्छ,

भावनामा होइन, संरचनामा आधारित हुनुपर्छ र

फेसबुक लाइभ र पोस्टमा होइन, नीतिगत स्पष्टता र संगठनमा टिक्नुपर्छ ।

नयाँ शक्तिहरूले समयमै संयुक्त दृष्टिकोण, स्पष्ट नीति र चुनावी रणनीति तयार गरेनन् भने आशा फेरि निराशामा बदलिन सक्छ ।

अन्ततः सत्य यही हो;

देश व्यक्तिले होइन, संस्थाले बन्छ ।

तर, संस्था बनाउन सही व्यक्ति र सही जनादेश चाहिन्छ ।

अबको राजनीति यही द्वन्द्वको परीक्षा हो ।

नयाँ नेतृत्वप्रति जनताले राखेको अपेक्षा केवल अनुहार फेर्ने चाहना होइन, शासन गर्ने शैली, सोच र संरचना बदलिने आशा हो । तर, आज देखिँदै गएको संकेतले एउटा संवेदनशील प्रश्न उठाएको छ- के नयाँ भनिएका नेतृत्वहरू साँच्चै परिवर्तनको आधार बन्नेछन् ? कि पुरानै राजनीतिक संरचनाभित्र सीमित अर्को विकल्प मात्र हुनेछन् ?

नयाँ नेतृत्व व्यक्तिकेन्द्रित लोकप्रियताबाट माथि उठेर साझा दृष्टिकोण, संस्थागत प्रतिबद्धता र स्पष्ट नीतिगत दिशामा अघि बढ्न सकेन भने जनअपेक्षा फेरि निराशामा रूपान्तरण हुने जोखिम रहन्छ । परिवर्तनको अर्थ कुर्सी साटफेर होइन, सिस्टम रूपान्तरण हो । यही कसौटीमा अबको नयाँ नेतृत्वको वास्तविक परीक्षा हुनेछ ।

भ्रष्ट जनता !

यो पनि पढ्नुहोस्

भ्रष्ट जनता !

प्रतिक्रिया दिनुहोस्