प्रफिट वार्ता
शिक्षा, कृषि, पर्यटन र पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेको चौतारा साँगाचोकगढी नगरपालिका बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा पर्छ । जिल्ला सदरमुकामसमेत रहेको यो नगरपालिका साविकका चौतारा, पिपलडाँडा, कुविण्डे, सानो सिरुबारी, स्याउले, बतासे, इर्खु, कदमबास, साँगाचोक र ठुलो सिरुवारी गरी १० गाविस मिलेर बनेको छ । १४ वटा वडा रहेको नगरपालिकामा ४२ हजार ६६८ मानिस (जनगणना, २०७८)को बसोबास छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरुको बाहुल्य रहेको नगरपालिकामा धार्मिक तथा पर्यटकीय स्थलहरु पनि धेरै छन् । नगरबासीको जीविकोपार्जनको मुख्य स्रोत भनेको कृषि नै हो । संघीय राजधानी सहर काठमाडौंबाट बढीमा तीन घण्टाको यात्रामा पुगिने चौतारा साँगाचोकगढीका उपप्रमुख सीता थापासँग नगरको विकास, नगरबासीका चाहना एवं पदीय जिम्मेवारी र अनुभवमा केन्द्रित रहेर हामीले कुरा गरेका छौँ :
०००
स्थानीय तहमा निर्वाचित भएर आएको साढे तीन वर्षको अवधिलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
स्थानीय तहको उपप्रमुखमा निर्वाचित भएर आएको साढे तीन वर्ष बितेको छ । यो अवधिमा हामी मूलतः विकास निर्माणकै काममा कन्द्रित भयौँ । चुनावका बेला मतदाताको घरघर पुगेर जनाएका प्रतिबद्धताअनुसार नै काम गरेका छौँ । घोषणा पत्रमा उल्लेख गरेका वाचाहरु समय-समयमा अध्ययन गर्दै कार्यान्वयनमा लगेका छौँ ।
हामी निर्वाचित भएर आएपछि पहिलो निर्णय स्वास्थ्य बिमाको गरेका थियौँ । त्यसअनुसार दलित, अपांगता भएका व्यक्तिहरु, जनयुद्ध र जनआन्दोलनका घाइते, अल्पसंख्यक पहरी, माझी जातिका व्यक्तिहरु र ज्येष्ठ नागरिकलगायत लक्षित वर्गलाई निःशुल्क बिमाको व्यवस्था गरेका छौँ । त्यसको प्रभावकारिता राम्रो छ ।
त्यस्तै आमा सुरक्षा कार्यक्रम सञ्चालन गरेका छौँ । यसमा पनि कार्यविधि नै बनाएर आठपटक गर्भ जाँच गर्दाको १० हजार रुपैयाँ उपलब्ध गराउने गरेका छौँ । यी केही उदाहरण भए । समग्रमा, नागरिकको शिक्षा र स्वास्थ्यदेखि खानेपानी, सडक र अन्य पूर्वाधारका काममा जनताले महसुस गर्ने गरी काम गरेका छौँ ।
तपाईंहरुको कामसँग नगरबासी सन्तुष्ट छन् जस्तो लाग्छ ?
हामीले विकास निर्माणका कामका साथै नागरिकको जीविकोपार्जनका काममा पनि उत्तिकै ध्यान दिएका छौँ । नगरबासीलाई आयआर्जनमा जोड्ने खालका सीपमूलक तालिम र गतिविधि सञ्चालन गरेका छौँ । सीमित स्रोत र साधनका बीच धेरै काम गर्ने जमर्को पनि भइरहेको छ ।
तथापि, नगरबासीका धेरै छन्, त्यो स्वाभाविक पनि हो । उहाँहरुबाट धेरै आयोजना माग भएर आउँछन् तर हामीसँग बजेट सीमित छ । त्यसो हुँदा उहाँहरुले ल्याएका सबै आयोजना सम्बोधन हुन नसक्दा कतै–कतै गुनासो त होला तर हामीले गरेका कामप्रति उहाँहरु सन्तुष्ट नै हुनुहुन्छ, त्यसमा उहाँहरुको गुनासो छैन भन्नेमा म विश्वस्त छु ।

उपप्रमुखका भूमिका र जिम्मेवारी धेरै नै छन् । योजना अनुगमन र बजार अनुगमनदेखि न्यायिक समितिका कामहरु छन् । यी काम कारबाही कसरी सम्पन्न भइरहेका छन् ?
हो, संविधानले नै उपप्रमुखलाई धेरै काम दिएको छ । अधिकांश कामहरु झन्झटिला प्रकारका छन् । न्यायिक समितिको काम गर्दा सुरुमा अलि दबाब महसुस भएको थियो किनकि झगडियाहरुसँग बस्नुपर्यो, उनीहरुका कुरा सुन्नुपर्यो, त्यसको निराकरण गर्नुपर्यो । तर, सुरुमा दबाब भए पनि पछि-पछि त्यसलाई सहज ढंगले लिन थालियो । मुख्य कुराचाहिँ समाजलाई बुझ्ने अवसर पनि पाइने रहेछ ।
योजना अनुगमन, बजार अनुगमनका साथै अन्य नियमित कामहरु पनि धेरै छन् । ती काम पनि आवश्यकता र प्राथमिकताका आधारमा अघि बढिरहेका छन् ।
न्यायिक समितिको काम कसरी गर्ने गर्नुभएको छ ?
मैले अघि पनि भनेँ, सुरुमा दबाब महसुस भए पनि पछि गएर त्यसमा ‘एड्जस्ट’ भएर जिम्मेवारी पुरा गर्दै आएको छु । प्राकृतिक स्रोतको उपयोगका विषयमा कहिलेकाहीँ जटिलता आउँछ । एउटा त्यस्तै केस थियो- बसाइँ सरेर आउनुभएको एउटा परिवारलाई कुलोको पानी प्रयोग गर्न दिइएको रहेनछ । त्यसको उजुरी आयो । चार-पाँच बसाइमा पनि त्यसको समाधान निस्किएन । त्यसपछि इजलास नै बसेर ‘कुलो उपयोग गर्न दिनू’ भनेर फैसला गर्यौँ । अहिले कार्यान्वयनमा गएको छ । यस्ता केही जटिल केसहरु पनि आउँछन् । तिनलाई विषयको गम्भीरता हेरेर टुंग्याउने गरेका छौँ ।
हरेक हप्ताको सोमबार इजलास बस्ने गरेका छौँ । उजुरी बढी भयो भने अरु दिन पनि बस्छौँ । अहिलेसम्म फर्छ्यौट नभएका कुनै पनि केस छैनन् । कतिपयलाई न्यायिक समिति छ भन्ने थाहा पनि छैन । कुनै समस्या पर्यो भने सुरुमा प्रहरी प्रशासनमै जाने गरेको पाइन्छ । न्यायिक समितिको कामको प्रभावकारिता बढ्दै जाँदा जनप्रतिनिधिप्रति नागरिकको विश्वास पनि बढ्दै गएको छ ।

कतिपय पालिकामा न्यायिक समितिकै कारण जिल्ला अदालतमा जाने मुद्दामा अत्यन्तै कमी आएको पाइन्छ, यहाँहरुको नगरपालिकाको अवस्था के छ ?
हामीकहाँ धेरै उजुरी आउँछन् । कतिपय अवस्थामा उजुरी दिने अनि सम्पर्कमा नआउने अवस्था पनि छ । केही समय सम्पर्कमा ल्याउने प्रयास गर्छौं । तर, सम्पर्कमा नआएपछि त्यस्ता उजुरी निश्चित अवधिपछि स्वतः खारेज गर्ने गरिएको छ । धेरै उजुरी घटना स्थलमै निराकरण गर्ने गछौँ । महिनामा चार-पाँच वटा उजुरीका लागि इजलास बस्नुपर्ने हुन्छ । हामीले ती सबै उजुरीको फैसला गर्दै आएका छौं । जिल्ला अदालतमा पठाउनै परेको छैन ।
योजना निर्माणमा धेरै भ्रष्टाचार हुने गरेको पाइन्छ । कामको गुणस्तरीयतामा पनि पटक-पटक प्रश्न उठ्छ, नागरिकका धेरै गुनासा र असन्तुष्टि पनि यसमै छ, यसमा तपाईंको अनुभव के छ ?
नगर उपप्रमुखको अनुगमनलाई ‘राजनीतिक अनुगमन’ भनिने रहेछ । खासगरी, नगरपालिकाका प्राविधिकले अनुगमन गर्छन् । योजना शाखाले नै प्राथमिकताका साथ अनुगमन र मूल्यांकनको काम गर्छ । योजना निर्माणका क्रममा हामी पनि पटक-पटक पुग्ने गरेका छौँ । त्यसो हुँदा योजना निर्माणमा त्यति समस्या छ भन्ने लाग्दैन । हामी आवश्यकताका आधारमा अनुगमन गछौँ । योजना गुणस्तरहीन भएको भनेर खासै गुनासो आएको छैन ।
ग्रामीण क्षेत्रमा म्याद गुज्रिएका र लेबल नराखेका सामान प्रशस्त बेच्न राखेको पाइन्छ । नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिने यस्ता विषयको सम्बोधन गर्ने गरी बजार अनुगमनलाई कति प्राथमिकतामा राख्नुभएको छ ?
बजार अनुगमनका क्रममा म्याद नाघेका, लेबल नराखेका सामान भेटिन्छन् । खासगरी, भारतीय व्यवसायीले मोटरसाइकलमा बेच्न लैजाने सामानमा समस्या छ । उनीहरुले केमिकल बढी प्रयोग भएका र म्याद सकिएका मिठाईहरु बेच्न लैजान्छन् । त्यस्ता सामान बरामद गरेर नष्ट गर्ने गरेका छौँ । स्थानीय व्यापारी व्यवसायीबाट त्यस प्रकारको बदमासी खासै पाइँदैन ।
कृषि उत्पादन, कृषक सचेतना र बजारीकरणमा तपाईंहरुको भूमिका के छ ?
कृषिमा तीनै तहका सरकारले अनुदानका कार्यक्रम सञ्चालन नगर्ने हो भने थप जमिन बाँझिन्छ । अनुदानकै कारणले कृषिमा लाग्ने किसानको संख्या ठुलो छ । हाम्रो नगरपालिकाले पनि दुधमा प्रतिलिटर तीन रुपैयाँ अनुदान उपलब्ध गराएको छ । गोलभेँडामा प्रतिलिटर एक रुपैयाँ दिएका छौँ ।
तरकारी र फलफूलमा अत्यधिक रासायनिक मल र विषादी प्रयोग भएको पाइन्छ, किसानलाई सचेत बनाउन नगरपालिकाले के काम गरिरहेको छ ?
उहाँहरु उत्पादन गर्नुहुन्छ, बजार लैजानुहुन्छ । तर, हामीले हालसम्म किसानलाई त्यस प्रकारले सचेतनामूलक तालिम तथा कार्यक्रम सञ्चालन गरेका छैनौँ ।

नगर प्रमुख तत्कालीन माओवादी केन्द्रबाट हुनुहुन्छ, तपाईं तत्कालीन एकीकृत समाजवादीबाट । अहिले त पार्टी एकीकरण भइसक्यो, फरक दलबाट भएका कारण विगतमा प्रमुख र उपप्रमुखबीच कति समस्या थियो ?
हामीबीच खासै समस्या भएन । उहाँ सिनियर लिडर हुनुहुन्छ । उहाँको विचारमा समस्या छैन । म चाहिने सहयोगमात्र लिन्छु । विकासका सवालमा हामी एक ठाउँमा छौँ । नागरिकलाई सेवासुविधा दिने कुरामा राम्रो सहकार्य छ ।
सरकारी कर्मचारीको मनोभावना अलि डरलाग्दो गरी बिग्रिएको पाइन्छ, कामको अपनत्व लिने भन्दा पनि जागिरे मानसिकताका कर्मचारीको बाहुल्य छ, तपाईंलाई के लाग्छ ?
यो राष्ट्रिय रोग हो । चौतारा साँगाचोकगढी नगरपालिकाले पनि त्यो समस्या व्यहोरिरहेको छ । प्रमुख प्रशासकीय अधिकृतज्यूले कर्मचारीलाई अनुशासनमा ल्याउन र कामप्रति जिम्मेवार बनाउन निकै मेहनत गरिरहनुभएको छ । हामीले त्यसमा पुरा सहयोग गरेका छौँ । आशा गरौँ, त्यसमा सफल भइएला ।
पार्टीले अवसर दियो र चुनाव जित्नुभयो भने नगर प्रमुखको जिम्मेवारी सम्हाल्न कति तयार हुनुहुन्छ ?
म त पार्टीले अवसर दिनुपर्छ भन्छु । विगतमा जनप्रतिनिधि नभएको व्यक्ति एकैपटक नगर प्रमुख बन्नुभन्दा वडाध्यक्ष अथवा उपप्रमुख भएको व्यक्ति बन्दा पालिकालाई धेरै राम्रो हुन्छ भन्ने लाग्छ । बिल्कुल नयाँलाई नगर चलाउन सजिलो छैन । तर, हामीले धेरै अनुभव हासिल गरिसकेका छौँ । अवसर पाइयो भने नगरपालिकालाई उत्कृष्ट बनाउने गरी काम गर्न सक्छौँ । अहिलेको भन्दा राम्रो गर्न सकिन्छ ।
(तस्बिर : आशुतोष चालिसे)
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal