• Menu

अग्नि समूहको ३५ वर्ष : व्यवसायसँगै समाजलाई पनि उन्नत बनाउने प्रतिबद्धता

नेपाल प्रफिट

२०८२ मंसिर १, २१:१५

अग्नि समूहको ३५ वर्ष : व्यवसायसँगै समाजलाई पनि उन्नत बनाउने प्रतिबद्धता

काठमाडौँ । नेपालमा महिन्द्रा गाडीहरूको एक मात्र अधिकृत वितरक अग्नि ग्रुपअन्तर्गत सञ्चालित अग्नि फाउन्डेसनले ३५औँ वार्षिकोत्सव मनाएको छ । अग्नि फाउन्डेसन अग्नि ग्रुपअन्तर्गतको गैरनाफामूलक संस्था हो ।

काठमाडौंको बुढानीलकण्ठमा आयोजित विशेष समारोहमा कर्पोरेट सामाजिक उत्तरदायित्व सीएसआरअन्तर्गत समुदाय सशक्तीकरणतर्फ सार्थक योगदान पुर्‍याउने उद्देश्यले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई महिन्द्रा एसयूभी ४०० का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा अग्नि फाउन्डेसनकी अध्यक्ष सुशान वैद्य श्रेष्ठले ३५ वर्षको यात्रामा ग्रुप, साझेदारहरू र समुदायसँगै अघि बढ्दै आएको बताइन् । ‘आज हामी यस इन्स्टिच्युटलाई बालबालिका र परिवारसम्म अझ धेरै सेवा र अवसर पुर्‍याउन सहयोग गर्ने एउटा सानो तर अर्थपूर्ण कदम चालिरहेका छौँ,’ उनले भनिन् ।

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ केवल स्वास्थ्य सेवा प्रदान गर्ने संस्था मात्र नभएर आशा जोगाइने ठाउँ भएको उनको कथन छ । ‘यो परिवारले बल पाउने ठाउँ हो र भविष्यलाई सम्भारिने ठाउँ हो,’ अध्यक्ष श्रेष्ठले भनिन्, ‘यस्तो महत्वपूर्ण कार्यमा सहयोग गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो ।’

त्यस्तै काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष प्रा. डा. भगवान कोइरालाले इन्स्टिच्युटले विद्यालय स्वास्थ्य कार्यक्रम, जिल्ला स्वास्थ्य प्रणाली सुदृढीकरण तथा बालरोग पहिचानसहितका विभिन्न सामुदायिक स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी गराए ।

‘यी सबै कार्यक्रममा अब यी सवारी साधन प्रयोग गरिनेछन् । संक्षेपमा भन्नुपर्दा, हजारौँ बालबालिकाले प्रत्यक्ष लाभ पाउनेछन् र हाम्रो काम अधिक सहज तथा प्रभावकारी बनेपछि अप्रत्यक्ष रूपमा पनि धेरैले फाइदा लिन सक्नेछन्,’ उनले भने, ‘स्वास्थ्य सेवा अझ सहज र पहुँचयोग्य बनाउन मद्दत पुर्‍याएकोमा हामी अग्नि फाउन्डेसनप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।’

अग्नि ग्रुपको राइजिङ टुगेदर भन्ने मूल्य–दर्शनले व्यावसायिक सफलता मात्र होइन, समुदायको उन्नतिलाई पनि उत्तिकै महत्व दिएको छ । वातावरणमैत्री, सुरक्षित र दिगो यात्रा सुविधायुक्त महिन्द्रा एसयूभी ४०० इलेक्ट्रिक एसयूभीहरूले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका स्वास्थ्य, शिक्षा तथा समुदायमुखी कार्यक्रमको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

अग्नि फाउन्डेसन स्वास्थ्य, शिक्षा, खेलकुद र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा निरन्तर सक्रिय छ र सरकारी निकायहरूसँग सहकार्य गर्दै आएको छ । यसअघि फाउन्डेसनले त्रिवि शिक्षण अस्पतालका पीआईसीयू र एनआईसीयूको मर्मत–सम्भार तथा स्तरोन्नति गरिसकेको छ । साथै, भर्ना भएका बालबालिकाका अभिभावकका लागि ‘अग्नि विङ’ नामक सुविधासम्पन्न प्रतीक्षालय पनि स्थापना गरेको छ ।

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको उद्देश्य १८ वर्षसम्मका बालबालिकालाई अन्तर्राष्ट्रिय मानकअनुसार किफायती, गुणस्तरीय र समग्र स्वास्थ्य सेवा एकै स्थानबाट उपलब्ध गराउनु हो । यसले विशेषगरी कमजोर तथा जोखिममा रहेका समुदायका बालबालिकालाई समान अवसरका साथ दिगो स्वास्थ्य सेवा पहुँच सुनिश्चित गर्छ ।

अग्नि समूहद्वारा गरिएको यो सहयोग समुदायप्रति उन्मुख संस्थागत जिम्मेवारीको उत्कृष्ट उदाहरण हो । ३५ वर्षको यात्राले समूहको प्रगतिलाई मात्र होइन, समुदायसँगको सहयात्रालाई पनि सुदृढ बनाएको छ । ग्रुपले भनेको छ– किनकि, सँगै अघि बढ्दा मात्र वास्तविक प्रगति सम्भव हुन्छ ।

प्रतिक्रिया दिनुहोस्