• Menu

गगन र विश्वप्रकाशलाई जेन-जी आन्दोलनको सन्देश : विलौना नगर, परिवर्तनको संवाहक बन

नेपाल प्रफिट

२०८२ भदौ २९, १५:३८

गगन र विश्वप्रकाशलाई जेन-जी आन्दोलनको सन्देश : विलौना नगर, परिवर्तनको संवाहक बन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्याग्दै सुमना श्रेष्ठले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि लखेटिएका शीर्ष नेताको सहारा बनिरहेका कांग्रेस महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई एउटा बलियो सन्देश दिइन्- डुङ्डुङ्ती गन्हाइरहेका नेताको पूजा नगर ।

यो सन्देश त्यतिबेला आएको छ, जतिबेला जनताबाट लखेटिएका नेताहरु दुलो भित्रैबाट यिनै गगन र विश्वप्रकाशलाई मोहरा बनाएर बौरिने चेष्टा गरिरहेका छन् । गगन र विश्वप्रकाश पनि पार्टी अफिस जलेको भष्ममा उभिएर विलौना पोख्दै जेन-जी आन्दोलनको मर्ममाथि नै प्रहार गरिरहेका छन् ।

उनीहरुको रोदनमा थोरै आत्मालोचना र धेरै पार्टीकै बचाउ सुन्न सकिन्छ । तर, पार्टी किन यति धेरै गन्हायो र युवावर्गबाट तिरष्कृत भयो भन्नेमा ध्यान नदिएको स्पष्ट हुन्छ । जेन-जी आन्दोलनअघि होस् या पछि गगनले रुपान्तरणकारी हस्तक्षेपको कुरामात्र गरे, त्यसतर्फ कदम अघि सारेनन् ।

जेन-जी आन्दोलन गगन र विश्वप्रकाशका लागि पार्टीमा सकारात्मक हस्तक्षेप गर्ने अवसर थियो र छ । तर, आफैँ कुहिएर गन्हाएका नेतालाई बोक्दै र खरानीको थुप्रोमा उभिएर नागरिकको संवेदनामा खेल्ने भन्दा उन्नत स्तरको काम आजसम्म पनि उनीहरुले गर्ने संकेत देखाएका छैनन् ।

शीर्ष नेतृत्वबाट जनताको मतमाथि कुठाराघात गर्ने कार्यमा निरन्तर मतियार बनेका गगन र विश्वप्रकाश यसअघि पनि महामन्त्रीभन्दा साधारण कार्यकर्ताको हैसियतमा थिए । नेपाली कांग्रेस पार्टीमा महामन्त्रीको जिम्मेवारीमा रहेर पार्टीका महत्वपूर्ण निर्णयसमेत सामाजिक सञ्जाल र मिडियाबाट थाहा पाउनु जति लाजमर्दो विषयबारे सम्भवत: विगतमा सुन्ने गरिएकै थिएन ।

सभापति शेरबहादुर देउवा र उनकै पत्नी आरजु राणा देउवाको कुशासनको सिकार बनिरहँदा नेतृत्वमा सकारात्मक हस्तक्षेप गर्ने कुरा गगन र विश्वप्रकाशले भाषणमा सीमित गरिरहे । प्रजातान्त्रिक पार्टीभित्र प्रजातन्त्रकै दुहाइ भइरहँदा, विधि र पद्धति ध्वस्त बनाउने काम भइरहँदा र चरम अपहेलना भइरहँदा पनि उनीहरुले निरीहता प्रकट गरिरहे । सामाजिक सञ्जाल र कतै कतै भाषणमा सूक्ष्म ढंगले उनीहरुले पीडा बाहिर ल्याए ।

जेन-जी आन्दोलनले यो सबै व्याकुलताको अन्त्य गर्ने अवसर दिएको छ । सकिन्छ नेताहरुलाई घर पठाऊ सकिँदैन, आफैं बाहिर निस्क । र, दुवै महामन्त्रीले राजीनामा दिँदा पार्टी पक्कै धराशयी हुन्छ र शेरबहादुर चर्को दबाबमा पर्नेछन् । किनकि, निराशाकै डंगुरमा बाँच्न अभिषप्त तेस्रो तहका धेरै नेता पनि तिमीहरुको पछि लाग्नेछन् ।

कांग्रेसका गगन र विश्वप्रकाशमात्र होइन, नैनसिंह महर, प्रदीप पौडेललगायतका नेता पनि पार्टीलाई ध्वस्त हुनबाट बचाउने सुअवसरमा सामेल होऊन् । नेकपा एमालेका योगेश भट्टराई, विष्णु रिजाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र उषाकिरण तिमल्सिनाहरुले पनि अघिल्ला पुस्ताहरुलाई बिदा गरुन् । माओवादी केन्द्रका माधव सापकोटा, वर्षमान पुन र जनार्दन शर्माहरु पनि यो अभियानमा जोडिऊन् ।

एक्काइसौँ शताब्दीमा निर्दलीयताको परिकल्पनासमेत गर्न सकिन्न । नयाँ वैकल्पिक दलहरु कसरी उदाउँछन्, त्यसको लेखाजोखा अहिले हाम्रो हातमा छैन, त्यसकारण पहिलो सर्त, पुराना दलहरु सुध्रिएको हेर्ने नागरिकको धोको चाँडै पुरा होओस् । जेन-जी आन्दोलनले दिएको म्यान्डेट पनि यही हो ।

प्रतिक्रिया दिनुहोस्