• Menu

तीन दिनमै ४७ हजारले गरे नाइमा एक्स्पो अवलोकन, आज र भोलि ६० हजारले भ्रमण गर्ने अपेक्षा (फोटो फिचर)

नेपाल प्रफिट

२०८२ साउन २४, शनिबार १३:२९

तीन दिनमै ४७ हजारले गरे नाइमा एक्स्पो अवलोकन, आज र भोलि ६० हजारले भ्रमण गर्ने अपेक्षा (फोटो फिचर)

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा साउन २१ देखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा अवलोकनकर्ताको घुइँचो लागेको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको अटो मेलाको तेस्रो दिनसम्ममा ४७ हजारभन्दा बढीले अवलोकन गरिसकेका छन् ।

नाइमा मिडिया एन्ड कम्युनिकेसन कन्सल्ट्यान्ट प्रतीक अर्यालका अनुसार मेलाको दैनिक औसत १५ हजारभन्दा बढीले अवलोकन गरेका छन् । उनका अनुसार साउन २१ गते १५ हजार, २२ गते साढे १३ हजार र २३ गते साढे १९ हजारभन्दा बढीले मेलाको अवलोकन गरेका हुन् ।

मेलामा शनिबार थामिनसक्नु भीड लागेको छ । बिहान केहीबेर कम मानिस पुगे पनि केहीबेर यताको आगमनले उत्साह बढाएको अर्यालले बताए । ‘आज र भोलि बिदा छ,’ उनले भने, ‘दैनिक ३० हजारका दरले अवलोकनकर्ता आउने अपेक्षा गरेका छौँ ।’

मेलामा कतिपय ब्रान्डले २० लाखसम्म छुट सुविधा दिएका छन् । सन् २०२३ देखि नेपालमा बिक्री थालिएको निसानको जिरो एमिसनले ६५ लाखको गाडी ४५ लाखमा बिक्रीमा राखेको हो । त्यस्तै अरु ब्रान्डले पनि थुप्रै आकर्षक स्किम ल्याएका छन् ।

त्यस्तै साइमेक्स इंकले प्रदर्शनीमा राखेको एट्टो १ मा ग्राहकको उल्लेख्य भीड लागेको छ । सुविधाका आधारमा २९.९५ हजार र ३२.९९ हजार मूल्य तोकिएको एट्टो १ पाँच हजार रुपैयाँमै ग्राहकले बुकिङको अवसर पाइरहेका छन् । मेलास्थलबाट मात्रै दैनिक डेढ सयभन्दा बढी एट्टो १ बुकिङ भइरहेको बुझिएको छ ।

मेलामा दुई पाङ्ग्रेमा पनि उत्तिकै आकर्षण देखिएको छ । दुई लाखदेखि १४ लाखसम्मका मोटरसाइकल प्रदर्शनीमा राखिएका छन् । मेला आइतबारसम्म चल्नेछ ।

तस्बिर : आशुतोष चालिसे

प्रतिक्रिया दिनुहोस्