काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्टलाई सहयोग गरेको छ । ट्रस्टले अशक्त तथा पीडित व्यक्तिलाई स्वास्थ्य, शिक्षा तथा आधारभूत सेवाहरु प्रदान गरिरहेको छ ।
यात्रीलाई निःशुल्क भोजन सेवा गराउने, धार्मिक सम्पदाहरूको संरक्षण, मर्मत तथा व्यवस्थापनमा सक्रिय योगदान, नारीशक्ति सशक्तीकरणका लागि शिक्षाको व्यवस्थासहित कन्या गुरुकुल सञ्चालन, गाई संरक्षण, पालनपोषण तथा व्यवस्थापनमार्फत धार्मिक एवं जैविक परम्पराको संरक्षण र यात्रुका लागि विश्राम तथा आवासको व्यवस्थासहित सुविधा सम्पन्न धर्मशाला सञ्चालन गरिरहेको ट्रस्टलाई बैंकले सहयोग उपलब्ध गराएको छ ।
संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग हस्तान्तरण गरेका छन् । पोखरेलले सेवा भावमा समर्पित ट्रस्टलाई सानै भए पनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुसी महसुस भएको बताए ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ उपाधि प्राप्त गर्न सफल बैंकले केही समय अघिमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै, मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने सुविधा ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशभरका ६१ जिल्लामा फैलिएका २ सय शाखा, १६८ एटीएम, तीन विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइबाट १९ लाख ७ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।