काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार सामान्य अंकले घटेको छ । कारोबार रकममा उल्लेख्य वृद्धि भए पनि बजार परिसूचक नेप्से १.०७ अंकले घटेर २६५३ मा कायम भएको हो ।
मंगलबार ७ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा १८ प्रतिशतले बढेको छ ।
बजारमा ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको मूल्य घटेको छ। एक कम्पनीको मूल्य भने स्थिर रहेको छ।
बुधबार विभिन्न समूहगत परिसूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । हाइड्रोपावर समूह ०.७४ प्रतिशत, जीवन बिमा ०.१४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.३७ प्रतिशत र अन्य समूह ०.१९ प्रतिशतले बढेका छन्।
यता, बैंकिङ समूह ०.१२ प्रतिशत, विकास बैंक १.२५ प्रतिशत, होटल तथा पर्यटन १.१३ प्रतिशत, फाइनान्स ०.४६ प्रतिशत, माइक्रोफाइनान्स ०.५४ प्रतिशत, निर्जीवन बिमा ०.६२ प्रतिशत र व्यापार समूह ०.१५ प्रतिशतले घटेका छन् ।
आजको कारोबारमा पियोर इनर्जी र जोशी हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको छ ।
युनियन हाइड्रोपावरको ९.२२, सिंगटी हाइड्रो इनर्जीको ८.०९ तथा पन्चकन्या माइ हाइड्रोपावरको ८.०५ प्रतिशत मूल्य बढ्यो ।
कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । सप्तकोशी विकास बैंकको ७.३९, ग्रिन डेभलपमेन्ट बैंकको ३.८६ प्रतिशत घट्यो ।