• Menu

चितवनमा नियमविपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई कारबाही

नेपाल प्रफिट

२०८२ असार ४, बुधबार १७:१६


चितवन । नियम विपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरले कारबाही गरेको छ । कार्यालयले बुधबार सुरक्षाकर्मी लगायतका सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरी चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो ।

सो क्रममा कार्यालय प्रमुख डा. कृष्ण पौडेलले ऐन नियमावली तथा पशु ढुवानी मापदण्डविपरीत अवैध रुपमा आयात तथा ओसारपसार गरिएका गोरु, राँगा, भैँसी, कुखुराका चल्ला, मासु, अण्डा, माछालगायत नष्ट गरी ती सवारीसाधनलाई कारबाही गरिएको बताए । उहाँका अनुसार ती सवारीसाधनबाट रु एक लाख २३ हजार पाँच सय जरिवाना वापत राजस्व संकलन गरिएको छ ।

उनका अनुसार यस कार्यालयबाट जाँचका क्रममा सबैभन्दा धेरै बोइलर कुखुराका चल्ला ओसारपसार हुने गरेको छ । तेस्रो त्रैमासिकसम्म बोइलर चल्ला ७७ लाख ३० हजार ९८५ वटा यस कार्यालय हुँदै भित्रने र बाहिरिएका छन् । यस्तै १० लाख ५९ हजार ४७६ अण्डाका पेटी जिल्लाबाट बाहिरिएको उनले जानकारी दिए । बोका, खसी, बाख्रा एक लाख ४० हजार १२४, राँगा, पाडा, पाडी ८३ हजार २८१, भैसी ७७५, गाई ३२४ यस बाटोबाट गएका छन् ।

पौडेलका अनुसार यो बाटो हुँदै तयारी मासुमा माछा ४११.३०९ मेट्रिकटन, राँगा, भैसीको मासु १७६.८८३ मेट्रिकटन, खसीको मासु ५५.५९७ मेट्रिकटन, कुखुराको मासु १३५.५८ मेट्रिकटन र वंगुरको मासु १७८.९६६ मेट्रिकटन यस सडकको बाटो हुँदै गएको छ ।

ढुवानी गरेर ल्याइएका पशुका लागि पशु विश्रामस्थल र अवैध रुपमा ल्याइएका वा मरेका पशुलाई नष्ट गर्ने वायोलोजिकल पिटको अभावका कारण समस्या भएको उनले बताए ।

पशुलाई ढुवानी गरेर ल्याएपछि आठ घण्टासम्म विश्रामको आवश्यकता पर्ने भए पनि विश्रामस्थल नहुँदा समस्या भएको उनले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला चितवनका प्रमुख डा. विजय श्रेष्ठले स्थानीय तहमा वास्तिविक विवरण आउन नसक्दा समस्या भएको बताए ।

आन्तरिक ओसारपसारका लागि स्थानीय तह जिम्मेवार बन्नु आवश्यक रहेको उनको भनाइ थियो । अहिले पशु क्वारेन्टाइन नहुँदा पशु हाटबजार रोग फैलाउने ‘हट स्पोट’ का रुपमा रहेको उनको भनाइ थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि शर्माले अवैध रुपमा हुने ओसारपसार रोक्न स्थानीय प्रशासनले काम गरिरहेको बताए । उनले भने, ‘हामीले सबै स्थानमा कडाइका साथ जाँच गरिरहेका छौँ, त्यस्तो भेटिए कारबाही गर्छौँ ।’

सो अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष वसन्त पराजुली, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्ट, ह्याचरी उद्योग संघका महासचिव ज्ञानबहादुर बिसुराललगायतले छिमेकी देशको खुला नाकाका कारण व्यवसायी मारमा परेको भन्दै यसलाई कडाइ गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्