काठमाडौं । इजरायल र इरानबीच तनाव बढ्दै जाँदा विश्वव्यापी रुपमा तेलको मूल्यमा वृद्धि आएको छ । सन् २०२५ मा मागभन्दा धेरैले विश्वव्यापी आपूर्ति बढ्ने र सन् २०३० सम्म बजार स्थिर रहने पूर्वानुमानका बीच बढ्दो भू-राजनीतिक जोखिमले अन्तर्राष्ट्रिय तेल बजारमा अनिश्चितता सिर्जना गरेपछि मूल्य उकालो लागेको हो ।
वेस्ट टेक्सास इन्टरमिडिएट न्युयोर्क मर्कन्टाइल एक्सचेन्जमा जुलाईका लागि ३.०७ अमेरिकी डलर बढेर प्रति ब्यारेल ७४.८४ डलर कायम भएको छ । त्यस्तै ब्रेन्ट क्रुडको मूल्य लन्डन आईसीई फ्युचर्स एक्सचेन्जमा अगस्टका लागि ३.२२ डलरले बढेर ७६.४५ डलर प्रति ब्यारेल पुगेको छ ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले विश्वव्यापी तेल बजारमा देखिएका प्रमुख अनिश्चिततालाई लिएर चिन्ता व्यक्त गरेको छ । आईईएको मासिक प्रतिवेदनमा इजरायलले इरानमा गरेको आक्रमणले इरानको तेल उत्पादन प्रभावित भएको र मूल्यमा उतारचढाव आएको उल्लेख छ ।
इजरायलले इरानमाथि आक्रमण गर्ने घोषणा गरेदेखि नै तेलको मूल्य उकालो लाग्न थालेको थियो । इजरायलले इरानको आणविक केन्द्रमा शुक्रबार बिहान आक्रमण गरेपछि विभिन्न कम्पनीले १० प्रतिशतभन्दा धेरैले तेलको मूल्य बढाएका थिए ।
व्यवसायीहरूले इरान र इजरायलबीचको द्वन्द्वले इरानको तेल आपूर्तिमा बाधा पुगेको बताएका छन् । कच्चा तेलको मूल्यमा भएको वृद्धिले खाद्यान्नदेखि इन्धनको लागतसम्म सबै कुरालाई असर गर्नेछ । ऊर्जाको मूल्यवृद्धिले विश्वभर खाद्यान्न महँगो हुनसक्ने त्रास उत्पन्न भएको छ ।
दुई देशबीचको एक हप्ताको मिसाइल र ड्रोन आक्रमणपछि कच्चा तेलको मूल्य सामान्य घटेको छ । तर, एक महिनाअघिको भन्दा १० अमेरिकी डलरले अझै उच्च छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार प्रति ब्यारेल कच्चा तेलको मूल्य ७८ डलरभन्दा बढीमा पुगेको थियो । त्यसयता करिब ७४.५० डलरमा झरेको छ तर यो अझै पनि गत महिनाको भन्दा १० डलरले बढी हो ।
प्रतिवेदनमा प्रमुख ऊर्जा कम्पनीहरूले बढ्दो भू-राजनीतिक तनावले विश्वव्यापी ऊर्जा पूर्वाधारमा गम्भीर परिणाम निम्तिन सक्ने चेतावनी दिइएको छ । तीन वर्षअघि रूसले युक्रेनमा आक्रमण थाल्दा पनि विश्व प्रभावित भएको थियो ।
इजरायलले इरानमाथि गरेको आक्रमण र इरानको प्रतिक्रियाले विश्वव्यापी वित्तीय बजारमा समेत हलचल ल्याएको छ । खाडी मुलुकका सेयर बजारहरुमा आइतबारदेखि ठुलो गिरावट आएको छ । युद्ध तत्काल रोकिने संकेत नदेखिँदा सेयर लगानीकर्ताको मनोबल खस्किएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।
ठूला भू-राजनीतिक घटना र विश्वव्यापी अर्थतन्त्रको अवस्थाको प्रतिक्रियाले तेलको मूल्यमा सधैं उतारचढाव आउने गरेको छ । इरान पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन (ओपेक) को सदस्य हो । इरानले प्रतिदिन लगभग ३३ लाख ब्यारेल तेल र इन्धन उत्पादन गर्छ र २० लाखभन्दा बढी निर्यात गर्छ ।
इरान जस्तो ओपेकको सदस्य राष्ट्र आफैं युद्धमा होमिएकाले नेपाल जस्ता इन्धन आयातकर्ता राष्ट्रसमेत प्रभावित हुने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले आकलन गरेका छन् ।
टाइम्स अफ इजरायलका अनुसार इजरायली अधिकारीले इरानको तेल नेटवर्कमा आक्रमण हुनसक्ने चेनावनी दिएका छन् । इजरायलको आक्रमणले इरानी तेल पूर्वाधारमा क्षति पुगेमा विश्वव्यापी आपूर्ति प्रभावित हुने विश्लेषण भइरहेको छ ।