• Menu

नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’ खानेपानी विस्तार, दुई महिनामै सम्पन्न

नेपाल प्रफिट

२०८२ असार २, १४:०१

नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’ खानेपानी विस्तार, दुई महिनामै सम्पन्न

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’ खानेपानी विस्तार भएको छ । लेकगाउँ खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँका ८६ घरधुरी, एक विद्यालय र दुई सामुदायिक भवनमा शुद्ध खानेपानीको पहुँच विस्तार गरिएको हो ।

लेक गाउँ खानेपानी आयोजना सम्पन्न भएसँगै सबै घरमा शुद्ध खानेपानीको सुविधा पुगेको निर्माण उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर रञ्तिजाले बताए । ‘घरघरमा निर्माण भएका धाराबाट पानी खस्न थालेको छ, मुहानदेखि ट्यांकी हुँदै धाराका पूर्वाधार बनाउँदा पानी सुरक्षालाई ध्यान दिइएको छ, घरघरमा खानेपनीको सुविधालाई स्थानीयवासीलाई सहज भएको छ,’ अध्यक्ष रञ्तिजाले भने ।

गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोग र समुदायको श्रमदानबाट लेकगाउँमा खानेपानी आयोजना निर्माण भएको हो । गत चैत २९ गतेदेखि निर्माण सुरू भएको यस आयोजना दुई महिनामै निर्माण सम्पन्न भएको गोर्खा वेल्फेयर ट्रष्टका नारच्याङ खानेपानी आयोजना प्रमुख सन्तापसिंह राईले जानकारी दिए ।

उनका अनुसार, खानेपानी आयोजना निर्माणका लागि ट्रष्टको ५० लाख ५४ हजार तीन सय चार र स्थानीयवासीको १० लाख ९२ हजार आठ सय बराबरको श्रमदान गरी कूल ६१ लाख ४७ हजार एक सय चार लगानी भएको छ ।

आयोजनाले इन्टेक, कलेक्सन च्याम्बर, बिपिटी, आरबिटी, वितरण च्याम्बरलगायत पूर्वाधारसँगै मुख्य र वितरण पाइपलाइनमार्फत घरघरमा धारा निर्माण गरेर खानेपानी वितरण सुरू गरेको छ ।

आयोजनाले स्थानीय क्रान्ति आधारभूत विद्यालयमा खानेपानीको धारासँगै अपाङ्गमैत्री शौचालय निर्माण गरिदिएको छ । नेपाल सरकारले लागू गरेको खानेपानी सुरक्षा योजनालाई पूर्णरूपमा पालना गरी मुहानदेखि नै खानेपानी योजनाका पूर्वाधारलाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय बनाउने प्रयास गरिएको आयोजनाका इञ्जिनियर उक्तमलाल श्रेष्ठले जानकारी दिए ।

‘हामीले खानेपानी आयोजना बनाउने मात्रै होइन, उपभोक्तालाई सुरक्षित र स्वच्छ खानेपानी दिनुपर्छ भन्ने मान्यता अनुरूप पूर्वाधार निर्माणमा गुणस्तरीयता र आयोजनाको सुरक्षालाई ध्यान दिएका छौँ,’ उनले भने । यस आयोजनाको मूलमा बाढीले असर नगर्ने प्रविधिलाई प्रयोग गरिएको छ भने पानी ट्यांकीहरूमा बाहिरबाट कुनै पनि फोहरभित्र पस्न नसक्ने गरी सावधानी अपनाइएको छ ।

आयोजना निर्माण सुरू भएको दुई महिनाको अवधिमै सम्पन्न भई धाराबाट पानी आउन थालेपछि स्थानीयवासी उत्साहित भएका छन् । गाउँको शिरानमा रहेको पानीखाना मूलबाट पानी ल्याएर १० हजार र ६ हजार लिटरका दुई वटा पानी संकलन ट्यांकी निर्माण गरेर घरघरमा पानी वितरणको व्यवस्था मिलाइएको आयोजनाका सुपरभाइजर जमूना जिरेलले जानकारी दिए ।

यस आयोजनामा खानेपानीमा शुद्धता कायम गर्न मूल र पानी ट्यांकीहरूको संरक्षण गरिएको छ । योजनाका दीगोपानका लागि स्थानीय उपभोक्तालाई निर्माण कार्यमा परिचालन गर्नुका साथै मर्मत सम्भार तालिम प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्