• Menu

पर्वतको विहादीमा चार वर्षदेखि खानेपानी अभाव : तीन सय परिवार प्रभावित, योजना बजेटविहीन

नेपाल प्रफिट

२०८२ असार १, ११:४५

पर्वतको विहादीमा चार वर्षदेखि खानेपानी अभाव : तीन सय परिवार प्रभावित, योजना बजेटविहीन

पर्वत । बजेट अभावका कारण दक्षिण पर्वतको विहादी गाउँपालिका-२ बर्राचौरमा निर्माणाधीन सोती लिफ्टिङ खानेपानी योजना अधुरै रहेको छ । विकट गाउँका जनतालाई पिउने पानीको सुविधा पुर्‍याउने उद्देश्यले निर्माण थालिको योजना बजेट अभावका कारण चार वर्षदेखि अलपत्र छ ।

गण्डकी प्रदेश सरकारको चार करोड लागतमा बहुवर्षीय खानेपानी योजना निर्माण सुरु भएको थियो । तीन सय घरपरिवारलाई खानेपानी उपलब्ध गराउने लक्ष्यसहित आर्थिक वर्ष २०७७/७८ देखि निर्माण सुरु भए पनि पर्याप्त बजेट विनियोजन नहुँदा अलपत्र बनेको र बनेका संरचनासमेत जीर्ण बन्दै गएको विहादी गाउँपालिका-२ का अध्यक्ष गणेश शर्मा पौडेलले बताए ।

दुई वर्षमा सम्पन्न हुने भनिएको खानेपानीको योजना वर्षौँ लाग्दा पनि सम्बन्धित निकायले बजेट विनियोजनमा बेवास्ता गरेको उनको भनाइ छ ।

योजना सम्पन्न नहुँदा पिउने पानीका लागि गाउँलेहरू टाढाटाढाका कुवा र खोलाको पानीमा भर पर्नुपरेको छ । चैतदेखि यता भएका पानीका स्रोत पनि सुकेपछि पिउने पानी लिन दुई घण्टा धाएर कालीगण्डकी किनारमा जानुपर्ने बाध्यता रहेको अध्यक्ष शर्मा पौडेलको भनाइ छ । खानेपानी योजना पूरा नहुँदा वडा नं २ का गैरे, सातविसे, शेरा, ठौवा, बासकोट, कर्मीथर, आरनटोल, उपल्लो बर्राचौर, तल्लो बर्राचौरलगायत क्षेत्रमा पानीको हाहाकार छ ।

शेरा टोलकी लीलाकुमारी नेपालीले खानेपानीको हाहाकारले सकस भएको बताइन् । उनले भनिन्, ‘एक गाग्री पिउने पानीका लागि एक घण्टा लगाएर भूपेखोला धाउनुपरेको छ ।’ घरमा पालेका बाख्रा, भैँसी, बङ्गुर र राँगोलाई पानी खुवाउन पनि समस्या भएको उनले बताइन् ।

खानेपानी योजनाअन्तर्गत निर्माण गरिएका एक रिजर्भ ट्यांङ्की र छवटा शाखा ट्यांकी लामो समयदेखि प्रयोगविहीन अवस्थामा छन् । बिछ्याइएका पाइप लाइन कच्ची सडक खन्ने क्रममा क्षतविक्षत भएका छन् । ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत केही परिवारका धारा निर्माण गरिए पनि पानी आएको छैन ।

बस्तीभन्दा तल कालीगण्डकी किनार नजिकै खानेपानी स्रोतबाट एक सय घनमिटरको ट्यांकी निर्माण गरिएको छ भने ५० घनमिटर बराबरका पाँच ट्यांकी निर्माण गरी छोडिएका छन् ।

खानेपानी योजनाको प्रमुख पाइप लाइन र शाखा पाइप लाइन विस्तारको काम पनि पूरा गरिएको छैन । निर्माणको ठेक्का सम्झौता लिएका निर्माण व्यावसायी गिरिजाप्रसाद तिवारीले खानेपानी योजनाको काम ५० प्रतिशत पूरा गरेको बताए । बजेट विनियोजन नभएका कारण योजना पूरा गर्न नसकिएको उनको भनाइ छ ।

अहिलेसम्म दुई करोड बढी रकम खर्च गरिसकेको खानेपानी योजनालाई अर्थाभावका कारण पूरा गर्न नसकिएको गुनासो खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोति कुँवरको छ । प्रदेशको खानेपानी मन्त्रालयले बर्सेनि पर्याप्त बजेट विनियोजन नगर्दा समस्या भएको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख किरण पौडेलले योजनाको लागत धेरै, विनियोजित बजेट कम हुँदा समयमै पूरा हुन नसकेको बताए । उनका अनुसार चालु आव २०८१/८२ मा २० लाख विनियोजन भएको थियो । आगामी आव पूरा गर्नेगरी बजेट विनियोजन गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्