• Menu

नेपालले बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात सुरु गर्‍यो, ५ महिनामा १.२९ अर्ब आम्दानी गर्ने लक्ष्य

नेपाल प्रफिट

२०८२ असार १, १०:५२

नेपालले बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात सुरु गर्‍यो, ५ महिनामा १.२९ अर्ब आम्दानी गर्ने लक्ष्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत बंगलादेश निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत निर्यात गरेको प्राधिकरणले यस वर्ष असार १ (जुन १५) अर्थात् आजदेखि पुनः ४० मेगावाट विद्युत निर्यात सुरु गरेको हो ।

गत वर्ष असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपिसी विद्युत व्यापार निगम लिमिटेड भारतबीच विद्युत बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो यामको अन्तिम दिन अर्थात् कात्तिक १८ गते दिउँसो १२:०० देखि राति १२:०० बजेसम्म जम्मा १२ घण्टामात्र विद्युत निर्यात भएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत छिमेकी मुलुक भारतसँगै बंगलादेशमा निर्यात गर्न पाउनु खुसीको खबर भएको बताए । ’बंगलादेशमा विद्युत निर्यात हुनु यस क्षेत्रमा लाग्ने समग्र व्यवसायी र नेपालको समृद्धिका लागि खुसीको कुरा हो,’ उनले भने ।

नेपालले हरेक वर्ष पाँच महिना वर्षात्को समयमा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दै आएको छ । गत वर्ष बंगलादेशसँग विद्युत निर्यात सम्झौता गरेको नेपालले त्यसबेला जम्मा १२ घण्टामात्र विद्युत निर्यात गर्न पाएको थियो । यो वर्ष भने आजदेखि पाँच महिना निरन्तर बंगलादेशमा विद्युत निर्यात गर्ने छ ।

मन्त्री खड्काले हाम्रो उत्पादन निर्यात गरेर आयत घटाउन सक्ने प्रमुख क्षेत्र विद्युत क्षेत्र भएको बताए । नेपाल विद्युत प्राधिकरणले त्रिशूली जलविद्युत केन्द्रबाट उत्पादित १८.६० मेगावाट र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित २१.४० मेगावाट विद्युत निर्यात गर्न नेपाल, भारत र बंगलादेशबीच गत वर्ष सम्झौता भएको थियो । आजदेखि बंगलादेश निर्यात सुरु गरिएको विद्युत आगामी नोभेम्बर १५ सम्म निर्यात हुने छ ।

पाँच महिनामा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात हुने नेपाल विद्युत प्राधिकरणका विद्युत प्रणाली नियन्त्रण विभागका उपप्रबन्धक सुवर्ण सापकोटाले जानकारी दिए ।

उक्त विद्युत बिक्रीबापत सरकारले पाँच महिनामा एक अर्ब २९ करोड आम्दानी गर्नेछ । उक्त सम्झौताबमोजिम निर्यात हुने विद्युतको बिक्रीदर ६.४० अमेरिकी सेन्ट प्रतियुनिट रहेको छ । उक्त विद्युत नेपालको ४०० केभी ढल्केबर सबस्टेशनबाट भारतको मुजफ्रपुर, बेहरामपुर हुँदै बंगलादेशको भेरमारा सबस्टेशनसम्म पुग्नेछ ।

ऊर्जा क्षेत्रमा दीर्घकालीन महत्व राख्ने विद्युत निर्यातले नेपालको ऊर्जा सन्तुलन, जलविद्युतको अधिकतम उत्पादन र उपयोग तथा देशको अर्थतन्त्र उकास्न योगदान दिने अपेक्षा गरिएको छ ।

सरकारको ऊर्जा विकास मार्गचित्र-२०८१ को अवधारणाअनुसार सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गरी १५ हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य लिएको छ ।

भारतमा पनि विद्युत निर्यात निरन्तरता

नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुक भारतमा पनि विद्युत निर्यातलाई निरन्तरता दिएको छ । प्राधिकरणले यस वर्ष भारतको हरियाणा राज्यमा पनि विद्युत निर्यात सुरु गरिसकेको छ ।

जेठ १८ ९जुन १० देखि एक सय ८५ मेगावाट विद्युत निर्यात गर्दै आएको प्राधिकरणले शनिबारदेखि सोही स्थानका लागि दुई सय मेगावाट विद्युत निर्यात सुरु गरेको हो । नेपाल र भारतबीच भएको द्विपक्षीय सम्झौताबमोजिम यो विद्युत निर्यातको बिक्रीदर ५.२५ भारतीय रुपैयाँ प्रतियुनिट रहेको छ ।

त्यस्तै प्राधिकरणले गए राति १२:०० बजेदेखि नै भारतको बिहार राज्यमा पनि ८० मेगावाट विद्युत निर्यात सुरु गरेको छ । यसबाहेक ढल्केबर-मुजफ्रपुर चार सय केभी र एक सय ३२ केभी प्रसारण लाइनबाट समेत भारतीय बजारमा थप विद्युत खरिदबिक्री भइरहेको छ । वर्षायाम लागेसँगै नेपालमा विद्युतको उत्पादन बढेकाले नेपालको आन्तरिक माग पूरा भएपछि बाँकी रहेको विद्युत भारत र बंगलादेशमा निर्यात गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्