• Menu

ग्वार्को फ्लाई ओभरको मुख्य संरचना निर्माण सकियो, केही दिनभित्रै गाडी गुडाउने तयारी

नेपाल प्रफिट

२०८२ जेठ ३१, शनिबार १९:३५

ग्वार्को फ्लाई ओभरको मुख्य संरचना निर्माण सकियो, केही दिनभित्रै गाडी गुडाउने तयारी

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको मुख्य संरचना निर्माण सम्पन्न भएको छ । फ्लाई ओभरको आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ ।

निरीक्षणका क्रममा मन्त्री दाहालले फ्लाई ओभर निर्माण नौलो अभ्यास भएकाले केही ढिला भएको स्पष्ट पारे । अन्य निर्माणाधीन योजना तथा आयोजनाहरू पूरा गराउन मन्त्रालयले प्राथमिकता दिएको उनले बताए ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीले मुख्य संरचनाको निर्माण पूरा भएको र केही दिनभित्रमा सार्वजनिक यातायात सञ्चालन गरिने जानकारी दिए । सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले अब फ्लाई ओभरको मध्य भागमा ‘डिभाइडर’ राख्ने र केही सामान्य काम बाँकी रहेकाले यथाशीघ्र सञ्चालनमा आउने विश्वास व्यक्त गरे ।

तेइस दिनभित्रै बाँकी काम पूरा भएपछि यातायात सञ्चालनका लागि खुला गरिने उनले जानकारी दिए । पूर्वनिर्धारित समयमा निर्माण पूरा हुन नसकेपछि मन्त्री दाहालले पटक-पटक निरीक्षण र अनुगमन गरेर तीव्र गतिमा काम गर्न निर्देशन दिएका थिए । फ्लाई ओभर सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्