काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूलाई जोडेर आएका समाचारहरूमा कुनै सत्यता नभएको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यी समाचारहरू नियोजित, षड्यन्त्रपूर्वक र राजनीतिक आक्रमणको प्रयत्न भएको बताएका छन् ।
मन्त्री लेखकले आफ्नो विरुद्धमा भइरहेको यस प्रकारको प्रयासप्रति सम्मानित सदनबाट खेद व्यक्त गर्न चाहेको बताए । उनले भिजिट भिसा सम्बन्धी विषयमा सोधपुछका लागि आयोगबाट बोलाइएको कुरा सञ्चारमाध्यमबाट मात्र थाहा पाएको जानकारी दिए ।
‘कार्यालय प्रमुख सहसचिव तिर्थराज भट्टराईलाई भिजिट भिसा सम्बन्धित विषयमा सोधपुछको लागि आयोगबाट बोलाएको सञ्चारमाध्यमबाट थाहा पाएको हुँ,’ उनले भने, ‘यसमा मेरो पनि संलग्नता छ भनेर सामाजिक सञ्जालमा आएको हो। ती अभिव्यक्तिमा कुनै सत्यता छैन। उक्त कार्यमा मेरो कुनै संलग्नता छैन र हुन सक्दैन।’