काठमाडौं । वाणिज्य बैंकहरुले एक महिनामा १५ प्रतिशतले खुद नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को चैतसम्ममा ४१ अर्ब २५ करोड खुद नाफा कमाएका बैंकहरुले एक महिना अर्थात् वैशाखसम्ममा १५.८६ प्रतिशतले बढाएर ४७ अर्ब ७९ करोड पुर्याएका हुन् ।
सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ । नबिलले १० महिनामा ५ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको हो । त्यस्तै दोस्रोमा रहेको ग्लोबल आईएमई बैंकले ५ अर्ब ३५ करोड र तेस्रोमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ५ अर्ब २ करोड नाफा कमाएको छ ।
तीनवटा बैंकले १० महिनामा ५ अर्बभन्दा बढी नाफा कमाउँदा बाँकी सबै बैंकको नाफा ४ अर्बभन्दा कम नै छ । एभरेस्ट बैंकले ३ अर्ब ९० करोड, नेपाल बैंकले ३ अर्ब २८ करोड र एनएमबी बैंकले २ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको विवरण सार्वजनिक गरेका छन् ।
यसैगरी, प्राइम कमर्सियल बैंकले २ अर्ब ५८ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ३४ करोड, लक्ष्मी सनराइज बैंकले २ अर्ब १५ करोड, सिद्धार्थ बैंकले २ अर्ब १ करोड र प्रभु बैंकले २ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
अरु बैंकले १० महिनामा २ अर्ब नाफा पुर्याउन सकेका छैनन् । सानिमा बैंकले १ अर्ब ८७ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ७७ करोड, कृषि विकास बैंकले १ अर्ब ७३ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब ३८ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ३१ करोड र सिटिजन्स बैंकले १ अर्ब १८ करोड रूपैयाँ खुद नाफा गरेका छन् ।
यस्तै, १ अर्बभन्दा कम खुद नाफा कमाउने बैंकहरुमा हिमालयन बैंक, कुमारी बैंक र एनआईसी एसिया बैंक छन् । हिमालयन बैंकले ६८ करोड ३४ लाख रूपैयाँ र कुमारी बैंकले ४८ करोड १९ लाख रूपैयाँ खुद नाफा गरेको छ । सबैभन्दा कम एनआईसी एसिया बैंकले ४७ करोड ८७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ ।