• Menu

अमेरिकाले फर्काएपछि दाङका युवा सुवास शर्मा लेख्छन् : कृपया, मलाई अपराधी नबनाऊ

नेपाल प्रफिट

२०८२ जेठ २९, १६:०५

अमेरिकाले फर्काएपछि दाङका युवा सुवास शर्मा लेख्छन् : कृपया, मलाई अपराधी नबनाऊ

म फर्किएको मान्छे

त्रिभुवन विमानस्थलको ढोका खोलिँदा एकछिन रोकिएँ । म नेपाल फर्किएको थिएँ । धेरै वर्षको संघर्षपछि, असफलतासँग चुरो स्वीकारेर, लाज र मौनता बोकेर म मातृभूमिमा टेक्दै थिएँ । मानिसहरूले मलाई हेरे, एकछिन अचम्म माने, अनि फेरि आफ्नो बाटो लागे । कसैले चिनेन ।

तर म आफैंलाई चिनिरहेको थिएँ – म अमेरिका पुगेको थिएँ । म संघर्षमा हारेको थिएँ । म जिउँदै विफलताको घोषणा पत्र बनेर फर्किएको थिएँ ।

मेरो साथमा थियो एक थान पुरानो बोरा, जसमा केही लुगा थिए, पुराना कागजपत्र, अनि सायद बाँकी रहेको एउटा विश्वास, जसले मलाई अबसम्म बचाइराखेको थियो ।

मैले किन अमेरिका रोजेँ ?

म धेरैजस्तो नेपाली युवा जस्तै थिएँ । देशभित्रको असह्य बेरोजगारी, सस्तो श्रमको उपेक्षा र समाजको अन्तहीन खुट्टा तान्ने प्रवृत्तिले थकित ।

म पटक-पटक असफल भएँ । मिडियाबाट पाइला अगाडि बढाउन खोजेँ, सफल हुन सकिनँ, राजनीति गरेँ, राजनीति मिलेन । स्रोत-साधन थिएन । समाजमा हरेक दिन मलाई सम्झाइन्थ्यो कि म नालायक हुँ । ‘विदेश गइस् भने बल्ल केही हुन्छ’ भन्ने कर्णप्रिय भ्रमहरू घरी-घरी मेरो कानमा गुञ्जिन्थे ।

मैले अमेरिका छानेँ । त्यो मेरो विकल्प थिएन, त्यो मेरो अन्तिम प्रयास थियो । वैधानिक बाटो थिएन तर जिन्दगी बचाउने प्रयत्न थियो । म मर्न चाहँदिनथेँ । म बाँच्न चाहन्थेँ । आफूलाई केही सावित गर्न चाहन्थेँ ।

यात्रा : आँधीभन्दा तिव्र र थकित

जंगल, सर्प, नदी, तस्कर, धोका, भोक, ज्वरो – सबै पसे मेरो बाटोमा । मैले ती सबै सहेर अमेरिका छुँदै गर्दा एकछिन त रुने मन भयो । लाग्यो, म अब फेरि जन्मिएँ । तर त्यो आशा धेरै टिकेन ।

अमेरिकामा मैले आफूसँगै सयौँ नेपाली भेटेँ । कोही भर्खर आएका, कोही अगाडि नै जेलमा परेका, कोही शरण पाएर बाहिर निस्कने दिन कुरेका । सबैका कथा उस्तै थिए – घर समाजमा बेरोजगारीले भोगेको तिरस्कार, देशमा कुनै सम्भावना नदेखेर छोडेको जन्मभूमि, अनि एउटै लक्ष्य : बाँच्ने ।

नियति मेरो पक्षमा थिएन । कागज थिएन । कानुनले मलाई अयोग्य ठहर्‍यायो । महिनौँ हिरासतमा परेँ । अनि एक बिहान, एउटै कागज थमाइयो – तिमी नेपाल फर्क । तिमी यो देशका होइनौ ।’

फर्किनुको पीडा

न्युयोर्क सहरबाट एयर इन्डियाको जहाज चढेर जब नेपाल फर्किदै थिएँ, अझ भनौँ फर्काइँदै थिएँ, मेरा हरेक अंग लाजले पोलिरहेका थिए । मलाई लाग्यो, म हारेँ । मसँग न पैसा थियो, न ओज, न गौरव । म खाली थिएँ, रित्तो । त्यो रित्तोपन केवल बोरामा होइन, मनमा थियो ।

पूर्वको सूर्य पश्चिमको पहाडमा अस्ताइसकेको बेला नेपाल उत्रिएँ, कसैले स्वागत गरेन । बरु मिडियाले अनुहार देखाएर खबर बनायो – गैरकानुनी रूपमा अमेरिका पुगेका युवाहरू फर्किए ।

सामाजिक सञ्जालमा खिसीट्युरीको सगरमाथा खडा गरियो । ‘अमेरिका पुगेकाहरु बोरा बोकेर फर्किए,’ ‘डलर काड्न गएकाहरूको यस्तो हालत !’ – भन्ने व्यंग्यहरूले झन् मनमा चिर्छन् ।

तर, यो कसैले बुझेन कि म हाँस्न होइन, बाँच्न अमेरिका गएको थिएँ । न मलाई महल चाहिएको थियो, न गाडी । मलाई मेरो आत्मसम्मान चाहिएको थियो ।

समाजको निर्ममता

फर्किएपछि देखेँ – समाज अझै उस्तै छ । खुट्टा तान्ने, असफलतामा रमाउने र अरूको पीडामा हाँस्ने । कोही सोध्थे, ‘अनि के ल्यायौ ?’ – जस्तो कि म किनमेल गर्न गएको थिएँ । कोही हाँस्थे, ‘नत्र किन फर्किन्थ्यौ त !’

साथीहरू टाढा भए । आफन्तहरू मौन भए । म तिनका लागि गर्व होइन, चेतावनी बनेँ – ‘यस्तै हुन्छ रे विदेश जाँदा !’

तर कसैले मेरो प्रयास देखेन । मेरो पीडा बुझेन । म मर्न नचाहेर हिँडेको यात्रालाई, जीवनको हारको सन्देश बनाइयो ।

मेरो सपना, मेरो भविष्य

म अमेरिका पैसाका लागि गएको थिइनँ । मलाई सुनका चुरा किनिदिनु थिएन, न त दिदी-बहिनीको बिहे गर्न । म आफैँको जिन्दगीको अर्थ खोज्न हिँडेको थिएँ । देशमा म जस्ता लाखौँ युवा छन् – जसले सपना देख्छन् तर अवसर पाउँदैनन् । जसको ज्ञान, ऊर्जा र इमानदारी देशले चिन्दैन ।

म अमेरिका जान चाहन्थेँ किनभने यहाँ मेरो भविष्यमा गारो लागेको थियो । यहाँ मलाई मेरो क्षमताअनुसार उठ्न दिइएन । यहाँ जब म केही गर्न खोजेँ, समाजले मलाई तानेर तल ल्यायो । मेरो सफलता कसैलाई मन परेको थिएन ।

यहाँ ‘ऊ माथि उठ्ला कि ?’ भन्ने डरले मान्छेले सघाउँदैन । यहाँ साथीहरू आफैँ दु:खी हुन्छन् जब तिमी खुसी हुन खोज्छौ । मलाई यस्तो देशले गिज्याएको थियो, अनि त म गएको थिएँ ।

फेरि सुरु गर्न सजिलो हुँदैन

आज म नेपालमै छु । खाली हात फर्किए पनि मन खाली छैन । म बुझ्दछु – जिन्दगी हार जितको खेल मात्र होइन, अर्थको खोज पनि हो । म अब फेरि केही सुरु गर्न चाहन्छु । सायद सानो व्यापार, सायद आफ्नै खेत ।

तर हरेक बिहान मलाई लाग्छ – म अपराधी हुँ जस्तो व्यवहार गरिन्छ । के म साँचै दोषी हुँ ? के प्रयास गर्नु अपराध हो ? के देश छोड्नु देशद्रोह हो ?

यो देशको नीति कमजोर छ । बिदेसिने युवालाई न रोक्ने उपाय छ न त फर्किएपछि समेट्ने योजना । न सरकार बोल्छ न त समाज बुझ्छ । हामी ‘विदेश गएको=सफल’ भन्ने भ्रममा छौँ । र ‘फर्किएको=असफल’ भन्ने झुटो परिभाषालाई गहिर्‍याइरहेका छौँ ।

मेरो बिन्ती

तपाईंहरूसँग एउटै अनुरोध छ – फिर्ता आएका हरेक युवालाई सम्झनुहोस्, उनीहरूले प्रयास गरेका थिए । उनीहरू हार्न चाहँदैनथे । उनीहरू हाँस्न चाहन्थे, आफैँलाई केही सावित गर्न चाहन्थे ।

तर, जीवन सधैँ जसले योजना बनाउँछ, उसकै पक्षमा हुँदैन । कहिलेकाहीँ बाटोमा आँधी आउँछ । सपना च्यातिन्छ । रित्तो बोरा बोक्नुको अर्थ प्रयासको शेष हो । त्यही बाँकी सपनाबाट हामी फेरि सुरु गर्न चाहन्छौँ ।

अन्तिम शब्द

म अमेरिका गएँ । फर्किएँ । विफल भएँ । तर म अझै बाँचेको छु । अझै सपनाहरू बाँकी छन् । समाजले ठानिरहेको छ, म सकिएँ । तर म भित्र एउटा झिल्को बलिरहेको छ – जुन अब आफ्नो देशमै केही गर्नेछ ।

रित्तो बोरा, च्यातिएको सपना र गिज्याउने समाजका बीच म अब पनि उभिएको छु । कमजोर, लाजले भरिएको तर इमानदार र जिन्दगीप्रति अझै आशावादी ।

कृपया, मलाई अपराधी नबनाऊ । म देश छोडेर गएको थिएँ तर देशको माया कहिल्यै छोडेको थिइनँ । अब म यहीँ छु – फेरि एउटा सपना बोकेर ।

यसपालि, कानुनी, इमानदार र पूर्ण नेपाली भएर ।

(शर्माको फेसबुकबाट)

प्रतिक्रिया दिनुहोस्