मकवानपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले ४७ व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा संकलित नमुनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा ४७ व्यवसायीविरुद्ध दायर गरेको हो ।
कार्यालय प्रमुख काशीनाथ घिमिरेका अनुसार चालु आव २०८१/८२ गरिएको अनुगमन तथा संकलित नमुनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा तीन व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐन अन्तर्गत मुद्दा दायर गरिएको हो ।
कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा ४४ व्यापारी विरुद्धमुद्दा दायर गरेको थियो । अनुगमनका क्रममा संकलन गरिएको नमुना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकूल हुने गरी मिसावट गर्ने, म्याद गुज्रेको समान बिक्री गर्ने व्यवसायीविरुद्ध सम्बन्धित जिल्लाको जिल्ला अदालतमा मुद्दा दायर गरिएको प्रमुख घिमिरेले जानकारी दिए ।
आव २०८१/८२ मा कार्यालयले खाद्य अनुज्ञापत्र सिफारिस, जारी तथा नवीकरण ४८३ वटा, दाना अनुज्ञापत्र सिफारिस जारी तथा नवीकरण १८ वटा, ऐनबमोजिम खाद्य तथा दाना नमुना संकलन ९० वटा र खाद्य स्वच्छता सर्भिलेन्सका लागि १८३ संकलन गरी नमुना विश्लेषण गरिएको प्रमुख घिमिरेले बताए ।
नमुना विश्लेषण गर्दा प्रतिकूल आएका ८५ नमुनाहाई नियामअनुसार कानुनी प्रक्रिया अघि बढाउने, पुनः जाँच गराई मापदण्डअनुरुप सुधार गर्न लगाउने तथा व्यवसायीलाई सजग गराई प्रतिबद्धता गर्न लगाइएको प्रमुख घिमिरेको भनाइ छ ।
सो अवधिमा गरिएको अनुगमन, निरीक्षण तथा न्यायिक निकायबाट फैसला कार्यान्वयनका क्रममा उपभोग्य अवधि समाप्त भएका, लेवल विवरण नभएका, सडेगलेकालगायतका अखाद्य भएका ११ लाख ३३ हजार मूल्यबराबरका वस्तु जफत गरी सरोकारवालाको रोहबरमा नष्ट गरिएको प्रमुख घिमिरेले बताए ।
होटल तथा रेस्टुरेन्टको स्तरीकरण गर्न जनप्रतिनिधि, होटल व्यवसायी तथा सञ्चारकर्मीको रोहबरमा सौरहा, चितवनलगायतका स्थानमा सञ्चालित १३ वटा होटल तथा रेस्टुरेन्टलाई स्तरीकरण तथा लोगो वितरण गरिएको छ । कार्यालयले विभिन्न कार्यक्रम गरी जेठ १८ देखि २४ सम्म विश्व खाद्य स्वच्छता दिवससमेत मनाएको छ ।