• Menu

रुपन्देहीमा साढे तीन करोड रुपैयाँभन्दा बढी अवैध मुद्रा बरामद

नेपाल प्रफिट

२०८२ जेठ २९, १२:१२

रुपन्देहीमा साढे तीन करोड रुपैयाँभन्दा बढी अवैध मुद्रा बरामद

रुपन्देही । राजस्व अनुसन्धान कार्यालय बुटवलले चालु आर्थिक वर्षको हालसम्म स्रोत नखुलेको अवैध नेपाली रुपैयाँसहित विभिन्न देशका ३ करोड ४६ लाख ५५ हजार ८८० मुद्रा बरामद गरेको छ । बरामद गरिएका मुद्रामध्ये नेपाली एक करोड ९१ लाख र भारतीय एक करोड ५५ लाख रहेको राजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ ।

नेपाल-भारत सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेका यस्ता रकमसहित भारतीय नागरिक पक्राउ पर्ने गरेको कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले बताए । उनीहरू भरियाका रूपमा रहेका भन्दै यसको गिरोहको जरासम्म पुग्न भने नसकिएको प्रहरी तथा अनुसन्धान अधिकारीहरू बताउँछन् ।

चालु आवमा भएको बरामदको विवरण अनुसार बुटवल आसपासबाट मात्रै ३ करोड ४६ लाखभन्दा बढी अवैध रकम बरामद भएको अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिए । उनका अनुसार विदेशी मुद्राको अवैध कारोबारमा भारतीय मुद्रा, अमेरिकी डलर, युएई दिराम तथा नेपाली रुपैयाँ रहेका छन् ।

त्यस्ता मुद्राहरूको कारोबार, सीमानाकामा ओसारपसार र वैधानिक स्रोतबिनाका गतिविधिमा संलग्न समूहमाथि कडा निगरानी गरी उक्त रकम जफत गरिएको घिमिरेले बताए । उनका अनुसार राजस्व अनुसन्धान टोली र नेपाल प्रहरीको संयुक्त प्रयासमा विभिन्न गाडी, यात्री र झोलाबाट सो रकम जफत गरिएको हो ।

रुपन्देहीका बुटवल, मर्चवारी, बेलहिया, रैनादेवी, चम्पानगर तथा कपिलवस्तुको कृष्णनगरलगायत सीमावर्ती क्षेत्रहरूमा निगरानी कडा पारिएको जनाउँदै घिमिरेले यस्ता अवैद्य रकमसहित भारतीय नागरिक पक्राउ परेका उल्लेख गरे ।

तस्करीको सुनसहित व्यापारीले सीमापारी पुगेर लेनदेन गर्ने गरेको रकम पटकपटक गरी नेपाल भित्र्याउने गरिएको हुनसक्ने अनुसन्धान अधिकृत घिमिरेले आशंका व्यक्त गरे । ’सोको पुष्टि हुनेगरी केही विवरण र मालिक पत्ता लागेका छन् तर अनुसन्धान भइरहेकाले अहिलेसम्म सार्वजनिक भने गरिएको छैन,’ उनले भने ।

प्रमुख अनुसन्धान अधिकृत घिमिरेले आपराधिक गतिविधिमाथि सुदृढ अनुगमन, प्रविधिको प्रयोग तथा अन्तरनिकाय समन्वयमार्फत कडाइका साथ नियन्त्रणको अभियान सञ्चालन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्