• Menu

कुलमान भन्छन्- भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सके प्रत्येक वर्ष ६ खर्ब कमाइ हुन्छ

नेपाल प्रफिट

२०८२ जेठ २९, १०:३४

कुलमान भन्छन्- भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सके प्रत्येक वर्ष ६ खर्ब कमाइ हुन्छ
फाइल तस्बिर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली बिक्रीबाट नेपालले खर्बौं रकम आम्दानी गर्न सक्ने बताएका छन् । सर्लाहीमा आयोजित एक कार्यक्रममा उनले भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सके नेपालले प्रत्येक वर्ष कम्तीमा ६ खर्ब रुपैयाँ कमाउने बताएका हुन् ।

‘भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सक्यौं भने प्रत्येक वर्ष करिब-करिब ६ देखि ७ खर्ब पैसा कमाइ हुन्छ,’ उनले भने, ‘त्यो भनेको हाम्रो जीडीपीको १५-२० प्रतिशत रकम विद्युत् निर्यातबाट मात्र प्राप्त हुनेछ ।’

पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र घिसिङ कार्यकारी निर्देशक रहेका बेला भएको भ्रमणका क्रममा भारतसँग १० हजार मेगावाट बिजुली निर्यात गर्नेसम्बन्धी सम्झौता भएको थियो ।

घिसिङले नेपालमा जलविद्युतबाट यातायात क्षेत्रमा ठूलो क्रान्ति आएको पनि बताए । ‘ट्रान्सपोर्टेसनमा ठूलो क्रान्ति आएको छ, त्यो विद्युत् भएर हो,’ उनले भने, ‘लोडसेडिङ भएको भए आज इलेक्ट्रिकल भेइकल, चार्जिङ स्टेसनको नाम पनि देख्न सकिन्नथ्यो ।’

खाना पकाउने ग्याँस र पेट्रोल, डिजेल प्रतिस्थापन गर्न सके व्यापार घाटा कम हुने उनले बताए । ‘अब धेरै ठाउँमा खाना पकाउने ग्याँस र पेट्रोल, डिजेल प्रतिस्थापन गर्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्