• Menu

पत्रकार पाठकलाई पक्राउ गर्ने प्रयासमा प्रहरी, पाठक भन्छन्- समाचारको विषयलाई लिएर थुन्न खोज्नु शंकास्पद

नेपाल प्रफिट

२०८२ जेठ २८, बुधबार १९:३३

पत्रकार पाठकलाई पक्राउ गर्ने प्रयासमा प्रहरी, पाठक भन्छन्- समाचारको विषयलाई लिएर थुन्न खोज्नु शंकास्पद

काठमाडौं । तीन साताअघि ‘टफ टक विथ दिलभूषण पाठक’ नामको युट्युब च्यानलमार्फत ‘हिल्टन होटल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरबारे प्रसारित भिडिओ रिपोर्टलाई लिएर परेको उजुरीका आधारमा पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी उनकै घर पुगेको छ ।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर पाठकलाई खोज्दै बुधबार दिउँसो नेपाल प्रहरीको साइबर ब्युरो धुम्बाराहीस्थित उनको घर पुगेको हो । पत्रकार पाठक भने सम्पर्कविहीन छन् । उनको मोबाइल पनि स्विच अफ छ ।

उनले नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलसँग सहयोग माग्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । ‘मैले प्रसारण गरेको सामग्रीका विषयमा कुनै असहमति, गुनासो वा फरक मत भएमा सबैभन्दा पहिला मसँग अनि त्यसमा पनि चित्त नबुझेमा प्रेस काउन्सिलमा उजुरी गर्नुपर्ने र त्यसमाथि प्रेस काउन्सिलले नै अनुसन्धान तथा छानबिन गर्नुपर्ने कानुनी व्यवस्था रहँदा‐रहँदै किन विद्युतीय अपराध ऐन आकर्षित गर्न खोजियो र फौजदारी कानुनमार्फत कारबाही गर्न खोजियो भन्ने कुराले गम्भीर आशंका उब्जाएको छ,’ पाठकले दुवै संस्थालाई पठाएको पत्रमा उल्लेख छ ।

‘त्यसमाथि सम्बन्धित अधिकारीहरूले उजुरी र आरोपका बारेमा कुनै जानकारी नदिने एकैचोटी बलपूर्वक पक्राउ गर्न खोजिनुले आशंकासँगै अनेकन् प्रश्न उब्जाएको छ । तसर्थ, अहिलेसम्म औपचारिक रूपमा मैले मविरुद्ध परेको उजुरी, ममाथि लगाइएको आरोप र उठाइएका प्रश्न के के हुन् भन्ने जानकारी नपाएकाले सम्बन्धित निकाय तथा अधिकारीबाट त्यसको जानकारी माग गरी सहयोग गरिदिनु हुन अनुरोध गर्दछु,’ उनले लेखेका छन् ।

उनले समाचार सामग्री प्रसारण गरेकै आधारमा सरकारबाट गर्न खोजिएको जबर्जस्ती रोक्न आवश्यक कदम चाल्न पनि पत्रकार महासंघ र प्रेस काउन्सिलसँग आग्रह गरेका छन् ।

पाठकले तीन हप्ताअघि आफ्नो युट्युब च्यानलमा हिल्टन होटलको सेयर खरिद-बिक्रीसँग सम्बन्धित सामग्री प्रसारण गरेका थिए । पाठकले त्यसमा कांग्रेस सभापति देउवा र उनकी पत्नी आरजु राणा र छोरा जयवीरबारे चर्चा गर्दै दुबई, अस्ट्रेलिया हुँदै क्यानडासम्म रियल इस्टेट बिजनेस फैलाएको दाबी गरेका छन् ।

साथै, शंकर ग्रुपको मुख्य लगानी रहेको नक्सालस्थित पाँचतारे होटल हिल्टनमा पनि उनीहरु जोडिएको उल्लेख गरेका छन् । समाचार समाग्रीमा उनले जयवीरको सम्पत्तिमा पनि प्रश्न उठाएका छन् ।

समाचार सामग्रीमा आपत्ति जनाउँदै शंकर ग्रुपले वैशाख २१ गते विज्ञप्ति जारी गरेर खण्डन गरेको थियो भने त्यसविरुद्ध कानुनी प्रक्रिया अपनाउने उल्लेख पनि गरेको थियो । सोही उजुरीका आधारमा पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । समाचार प्रसारणको विषयलाई लिएर पक्राउ गर्न खोज्नु शंकास्पद भएको भन्दै सामाजिक सञ्जालमा सरकारको विरोध सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्