काठमाडौं । ‘बिट द प्लास्टिक’ मूल नारालाई आत्मसात् गर्दै बढ्दो जलवायु परिवर्तन न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटबिरुवा जगेर्ना तथा प्रवर्धन गर्ने हेतुले सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बुधबार लुम्बिनी प्रदेशको वनवाटिका तिलोत्तमा नगरपालिका र कर्णाली प्रदेशको भाइराम सामुदायिक वन, वीरेन्द्रनगरमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व वातावरण दिवस २०२५ को अवसरमा लुम्बिनी प्रदेशमा १०५ विभिन्न प्रजातिका बिरुवा र कर्णाली प्रदेशमा १०० भन्दा बढी बिरुवा रोपिएको हो । बैकले अन्य प्रदेशमा पनि वृक्षारोपण गरिसकेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले देशका विभिन्न स्थानहरुमा स्वास्थ्य शिविर सञ्चालन, समुदायिक विद्यालय एवं मठ मन्दिरहरुमा सहयोग गर्दै आएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ उपाधि प्राप्त गर्न सफल बैंकले केही समय अघिमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै, मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने सुविधा ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशभरका ६१ जिल्लामा फैलिएका २ सय शाखा, १६८ एटीएम, तीन विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइबाट १९ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।