• Menu

चुनौतीपूर्ण अवस्थामा विश्व अर्थतन्त्र, ७० प्रतिशत देशको आर्थिक वृद्धिदर नकारात्मक हुने प्रक्षेपण

नेपाल प्रफिट

२०८२ जेठ २८, बुधबार १२:३८

चुनौतीपूर्ण अवस्थामा विश्व अर्थतन्त्र, ७० प्रतिशत देशको आर्थिक वृद्धिदर नकारात्मक हुने प्रक्षेपण

एजेन्सी । विश्व बैंकले विश्वभर आर्थिक संकट आउनसक्ने चेतावनी दिएको छ । व्यापारमा बढ्दो तनाव र नीतिगत अनिश्चितताका कारण विश्व अर्थतन्त्रको वृद्धिदरसम्बन्धी पूर्वानुमानमा कटौती गरेको विश्व बैंकले आर्थिक संकटको चेतावनी दिएको हो ।

विश्व बैंकले मंगलबार सार्वजनिक गरेको ‘विश्व आर्थिक दृष्टिकोण’ प्रतिवेदनअनुसार हाल देखिएको अस्थिर अवस्थाले विश्वका करिब ७० प्रतिशत अर्थतन्त्रमा आर्थिक वृद्धिदर नकारात्मक बन्नेछ भने सबै भू-भाग र आम्दानी वर्गका मानिस प्रभावित हुनेछन् ।

सन् २०२५ का लागि विश्व आर्थिक वृद्धिदर प्रक्षेपण २.७ प्रतिशतबाट घटाएर २.३ प्रतिशतमा झारिएको छ । यस्तै, सन् २०२६ का लागि २.७ प्रतिशतबाट घटाएर २.४ प्रतिशतमा ल्याइएको छ ।

विकसित देशहरूमा आगामी वर्ष १.२ प्रतिशतको वृद्धि हुने अपेक्षा गरिएको छ, जुन अघिल्लो अनुमानभन्दा केही कम हो । त्यस्तै विकासशील तथा उदाउँदा बजार अर्थतन्त्रहरूमा सन् २०२५ को वृद्धिदर ३.८ प्रतिशत रहने अनुमान गरिएको छ, जुन पूर्वानुमानभन्दा ०.३ प्रतिशत अंकले कम हो ।

संयुक्त राज्य अमेरिकाको वृद्धिदर सन् २०२५ मा १.४ प्रतिशतमात्र रहने सम्भावना देखिएको छ, जुन अघिल्लो पूर्वानुमानभन्दा कम हो र सन् २०२४ को २.८ प्रतिशत वृद्धिको तुलनामा आधा मात्र हो ।

युरोप क्षेत्र र जापान दुवैको वृद्धिदर ०.७ प्रतिशत रहने अनुमान गरिएको छ, जसले अघिल्लो अनुमानमा केही कमी आएको देखाउँछ । चीनको वृद्धिदर भने अघिल्ला पूर्वानुमानअनुसार यथावत् छ ।

प्रतिवेदनमा उल्लेख गरिएअनुसार केही महिनाअघि सहज सुधारको आशा गरिएको विश्व अर्थतन्त्र फेरि चुनौतीपूर्ण परिस्थितिमा प्रवेश गरिरहेको छ । शीघ्र उपयुक्त नीतिगत कदमहरू नचालिएमा जनजीवनमा दीर्घकालीन असर पर्न सक्ने चेतावनीसमेत प्रतिवेदनमा दिइएको छ ।

विश्व बैंक समूहका प्रमुख अर्थशास्त्री तथा वरिष्ठ उपाध्यक्ष इन्डर्मिट गिलले एसियाबाहेकका क्षेत्रहरूमा विकासको गति सुस्त बन्दै गएको र यसले विकासशील राष्ट्रहरूलाई थप चुनौतीमा पार्ने सम्भावना देखिएको बताए । ‘विकासशील राष्ट्रहरूमा लगानीको दर अपेक्षाकृत कम भएको र ऋणको भार उच्च रहेकाले आय असमानता हटाउने तथा गरिबी घटाउने प्रयासहरूमा प्रगति पर्याप्त छैन,’ उनले भने ।

भविष्यको आर्थिक स्थायित्व मुख्यतया वैश्विक व्यापार नीतिको दिशामा निर्भर रहने कुरा प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले सन् २०२६ र २०२७ मा केही सुधारको संकेत गरे पनि समग्रमा आर्थिक उत्पादन स्तर अघिल्लो अनुमानभन्दा अझै तल रहने सम्भावना औंल्याएको छ ।

यद्यपि, व्यापार प्रतिबन्धहरू तीव्र रूपमा बढ्ने वा नीतिगत अन्योल निरन्तर रहने हो भने आर्थिक वृद्धिमा थप गिरावट आउन सक्ने र वित्तीय दबाब पनि बढ्न सक्ने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्