काठमाडौं । महँगी वृद्धिदरमा उच्च अंकको गिरावट आएको छ । २०८२ वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशतमा सीमित भएको हो ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष २०८२/८३ को वैशाखमा मुद्रास्फीति ४.४० प्रतिशत थियो । वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत छ ।
गत वर्ष वैशाखमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ६.४१ प्रतिशत र ३.०९ प्रतिशत थियो । वैशाखमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.०८ प्रतिशत, फलफूलको ६.१५ प्रतिशत, दाल तथा गेडागुडीको ५.१७ प्रतिशत र गैरमदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले बढेको छ भने तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.११ प्रतिशत, मरमसलाको २.२० प्रतिशत र माछा तथा मासुको ०.४८ प्रतिशतले घटेको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ९.०४ प्रतिशत, शिक्षाको ५.८८ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२३ प्रतिशत, फर्निसिब तथा घरायसी उपकरणको ३.९९ प्रतिशत र रेस्टुराँ तथा आवास सेवाहरुको ३.१६ प्रतिशतले बढेको छ ।
वैशाख महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.२१ प्रतिशत र सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २.६१ प्रतिशतले बढेको छ । प्रदेशगत रुपमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२९ प्रतिशत, मधेस प्रदेशको २.८१ प्रतिशत, बागमती प्रदेशको २.४० प्रतिशत, गण्डकी प्रदेशको २.२३ प्रतिशत, लुम्बिनी प्रदेशको २.१५ प्रतिशत, कर्णाली प्रदेशको २.२१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३.१४ प्रतिशत छ ।
वैशाखमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.६४ प्रतिशत, तराईको २.६४ प्रतिशत, पहाडको २.६५ प्रतिशत र हिमालको ४.०१ प्रतिशत छ । २०८२ वैशाखमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.९५ प्रतिशत छ । गत वर्ष वैशाखमा यस्तो मुद्रास्फीति ५.६८ प्रतिशत थियो ।
वैशाखमा उपभोग्य वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १०.८९ प्रतिशतले बढेको छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ०.१० प्रतिशत र २.७३ प्रतिशत छ । वैशाखमा निर्माण सामाग्रीको थोक मुद्रास्फीति २.६७ प्रतिशत छ ।