• Menu

राष्ट्र बैंकका पूर्व अध्यक्ष डा. अधिकारीसहित पाँच जनाविरुद्ध १९ लाख घुस लिएको आरोपमा मुद्दा दायर

नेपाल प्रफिट

२०८२ जेठ २७, ११:४१

राष्ट्र बैंकका पूर्व अध्यक्ष डा. अधिकारीसहित पाँच जनाविरुद्ध १९ लाख घुस लिएको आरोपमा मुद्दा दायर

काठमाडौं । ऋण दिलाइदिएबापत घुस लिएको अभियोगमा नेपाल राष्ट्र बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी सहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल बैंक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै अध्यक्ष डा. अधिकारीले घुस लिएको आयोगको आरोप छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहियामा रहेको भुसाल हस्पिटालिटीअन्तर्गतको परियोजनाले एक अर्ब ७७ करोड २९ लाख ८६ लाख ७६५ बराबरको ऋण लिनका लागि बैंकका अध्यक्ष डा. अधिकारीले १९ लाख रकम लिएको पाइएको छ ।

ऋण प्रक्रियाका लागि बैंकमा कागजात पेस गरेपछि भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसाल र निजका छोरा अङ्कित भुसालसँग पटकपटक भेटघाट गरेको र सामाजिक सञ्जालमार्फत कुराकानी गरेको पाइएको छ ।

ऋण मिलाई सहजीकरण गर्न गराउन प्रतिवादीहरु लक्की भनिने खुस नसिब अन्सारीसमेत प्रतिवादीसँगको मिलेमतोमा २०८१ भदौ फरकफरक व्यक्तिमार्फत ३ गते सात लाख र १२ लाख बराबर रकम चेकमार्फत लिएको पाइएको छ ।

आयोगले तत्कालीन अध्यक्ष डा. अधिकारी, नसिब अन्सारी, अमृत भुसाल, अङ्कित भुसाल र बालकृष्ण भुसालविरुद्ध पनि समान बिगो माग दाबी गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. अधिकारीले ऋण सहजीकरण गरिदिने भन्दै तनहुँको आबुखैरहनीमा रहेको अकला देवी ट्रेडर्सका सञ्चालकसँग ५० लाख घुस माग गरेको पाइएको छ । आयोगले डा. अधिकारीविरुद्ध ५० लाख बराबरको बिगो माग दाबी गरेको छ ।

नारायणप्रसाद बराल, दानबहादुर कार्की र सुन्दरबहादुर बानियाँ, सन्तोष सुवेदी, लक्की खान भन्ने खुस नसिब अन्सारीविरुद्ध पनि समान ५० लाख बराबरको बिगो माग दाबी गर्दै दोस्रो मुद्दा दायर गरेको छ ।

आयोगले डा. अधिकारीविरुद्ध तेस्रो मुद्दा पनि दायर गरेको छ । काठमाडौं महानगरपालिका ३२ मा रहेको हिमाल तराई कन्स्ट्रक्सन प्रालीको ऋण प्रक्रियामा सहजीकरण गर्ने भन्दै पाँच लाख घुस लिएको पाइएको छ । आयोगले डा. अधिकारी, रमेश आचार्यविरुद्ध पाँच लाख बराबरको बिगो माग दाबी गर्दै तेस्रो मुद्दा दायर गरेको हो ।

आयोगले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा काठमाडौं महानगरपालिकाका तत्कालीन इञ्जिनियर रामबाबु महतो कोइरीविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले इञ्जिनियर कोइरी सार्वजनिक पद धारण गरेको २०४६ साल वैशाख १९ गतेदेखि २०७८ साल फागुन ३० गतेसम्मको अवधिको परीक्षण गरेको थियो । सो अवधिमा कोइरीको वैध आय तीन करोड ३७ लाख ७९ हजार ४०० रहेको थियो ।

कोइरीले ७ करोड ९६ लाख ७६ हजार ८०४ बराबरको रकम खर्च तथा लगानी गरेको पाइएको छ । आयोगले गरेको परीक्षणबाट ४ करोड ५८ लाख ९७ हजार ४०३ बराबरको रकमको स्रोत पुष्टि हुन नसकेको पाइएको छ ।

इञ्जिनियर कोइरीले सार्वजनिक सेवामा रहँदा अख्तियारको दुरुपयोग गरी आर्जन गरेको रकम श्रीमती मालाकुमारी महतोका नाममा जग्गा खरिद, शेयर खरिद, घर निर्माण र बैंक मौज्दात राखेको पाइएको छ । आयोगले इञ्जिनियर रामबाबु र उनकी श्रीमती मालाकुमारीविरुद्ध बिगोबमोजिमको काराबाहीको माग गर्दै मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्