काठमाडौं । विश्व वातावरण दिवस २०२५ को अवसरमा एनसेल फाउन्डेसन, खालिसिसी र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा आयोजना गरिएको नेपालको पहिलो राष्ट्रिय स्तरको वेस्ट ह्याकाथन तीन उत्कृष्ट टिमलाई पुरस्कृत गर्दै सम्पन्न भएको छ ।
फोहोरमैला व्यवस्थापनमा केन्द्रित यस किसिमको यो पहिलो ह्याकाथनमा सहभागीताका लागि ४ सयभन्दा बढी आवेदकहरु थिए र अन्तिममा १३ उत्कृष्ट टोली छनौटमा परेका थिए । यसरी छानिएका टोलीहरुले प्रविधिमा आधारित समाधानहरू प्रस्तुत गर्दै नेपालको फोहोर व्यवस्थापन समस्याको समाधानतर्फ नवीन पहलहरु प्रस्तुत गरेका थिए ।
थापाथली क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीको टिम इकोलुपले ट्र्यास डिजिटाइज शीर्षकअन्तर्गतको नवीन सोलुसन्स/समाधान प्रस्तुत गर्दै प्रथम स्थान हासिल गर्न सफल भएका थिए । यो टिमले फोहोर वर्गीकरण गर्ने, ट्र्याक गर्ने र उत्तरदायी बन्दै व्यवस्थापन गर्न उपभोक्तालाई प्रोत्साहन गर्ने डिजिटल प्लेटफर्मको प्रोटोटाइपको विकास गरेका छ । टिमका सदस्यहरूमा नितेश कुमार साह, धर्मेन्द्र सिंह चौधरी, रमेश कठायत र विपिनकुमार मरासिनी छन् ।
त्यसैगरी, किङ्स कलेज नेपालका विद्यार्थीको फुलस्ट्याक जिरोवेस्ट टिमले ल्यान्डफिल टु सरकुलेटरी शीर्षकअन्तर्गत उत्कृष्टता प्रदर्शन गर्दै फस्ट रनर अफ अर्थात दोस्रो स्थान प्राप्त गर्यो । सो टिममा कजेलका अंशु रेग्मी, रोजन श्रेष्ठ र कविश पोखरेल थिए ।
सेकेन्ड रनर अफ अर्थात् तेस्रो स्थान काठमाडौँ विश्वविद्यालयको आर्टिफिसियल इन्टेलिजेन्स विभागका विद्यार्थीको टिम सोर्स कोडले हासिल गरेको छ । यो टिममा अमनकुमार झा, अंशु पटेल, भावुक थापा र आयुष गौतम थिए । उनीहरुले वेस्ट विथआउट स्मोक शीर्षकअन्तर्गत डेटा र एआईमा आधारित समाधान विकास गरेका थिए । यो समाधानले नगरपालिकालाई फोहोर व्यवस्थापन अनुकूलन र कार्बन उत्सर्जन ट्र्याक गर्न सहयोग पुऱ्याउँछ ।
कार्यक्रमको समापन समारोहमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले भने, ‘नेपाललाई यस्तै स्थानीय स्तरमा आधारित नवीन सलुसन्सहरु आवश्यक छ । फोहोर केवल वातावरणीय मुद्दा होइन, सामाजिक तथा आर्थिक विषय पनि हो र यस कार्यक्रममा सहभागी युवाले समाधानको सम्भावना देखाएका छन् ।’
यस कार्यक्रमले सर्कुलर इनोभेसनतर्फ नेपालको साहसी यात्रा प्रारम्भ गरेको संकेत गरेको छ । युवावर्ग, प्रविधिविद् तथा वातावरणमा सकारात्मक परिवर्तन ल्याउने इच्छाशक्ति भएका युवाको सहभागितामा आयोजना गरिएको ह्याकाथनले सहकार्य र सृजनशीलता उजागर गरेको छ । सहभागी टिमहरूले स्मार्ट फोहोर वर्गीकरण प्रणाली, पुनः प्रयोग प्रविधि, सामुदायिक कम्पोस्टिङ समाधान तथा डेटा-सञ्चालित ट्र्याकिङ प्रणालीजस्ता विषयमा प्रोटोटाइप प्रस्तुत गरेका थिए ।
‘यो कार्यक्रम केवल प्रतियोगिता थिएन, सिभिक इनोभेसनका लागि एक प्लेटफर्म पनि थियो, जहाँ युवाले प्रविधि र उद्देश्यको माध्यमबाट हरित भविष्य निर्माण गर्ने दिशामा योगदान दिए । एनसेल फाउन्डेसन सधैं यस्ता परिवर्तनकर्ताहरूलाई सशक्त बनाउन प्रतिबद्ध छ,’ एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट इईरेक्टर विशाखालक्ष्मी खड्काले भनिन् ।
खालिसीसीकी संस्थापक तथा अध्यक्ष आयुषी केसीले भनिन्, ‘हाम्रो उद्देश्य जनचेतना मात्र फैलाउने होइन, व्यावहारिक समाधान पहिचान गर्दै विद्यार्थी, प्रविधिविद् र विशेषगरी महिला नवप्रवर्तनकर्ताहरूलाई सशक्त बनाउनु पनि हो ।’
अन्तिम तीन विजेता टोलीहरूले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ)बाट परामर्श र इन्क्युबेसन सहयोग प्राप्त गर्नेछन् । साथै, खालिसीसी, बुढानीलकण्ठ नगरपालिका र सीएनआईवाईइएफको सहकार्यमा पाइलट योजना कार्यान्वयनको अवसर प्राप्त गर्नेछन् ।
ह्याकाथनमा ल्यान्डफिलदेखि परिपरिवर्तनसम्म, धुवाँ बिनाको फोहर, फोहरमा महिलाको उद्यमशीलता र डिजिटाइज ट्र्यास गरी चार मुख्य विषयगत क्षेत्रहरूमा केन्द्रित रहेर युवाहरुले आफ्नो प्रस्तुति दिएका थिए । अन्तिम चरणमा पुगेका टोलीमध्ये ४० प्रतिशतभन्दा बढी टोली महिला नेतृत्व वा सह-नेतृत्वका थिए, जसले समावेशी सहभागिता बढ्दै गएको संकेत गरेको छ ।
ह्याकाथनले निजी क्षेत्र, सरकारी निकाय र सिभिक इनोभेटर्सबीचको प्रभावकारी सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । कार्यक्रमको सह-आयोजकमा गोल्यान समूह रहेको थियो । यस कार्यक्रमलाई प्लास्ट नेपाल फाउन्डेसन, कोकाकोला बेभरेजेज नेपाल, सिएनआईवाईईएफ, नबिल बैंक, ग्रो बाई आइडिया, क्लाउडफ्याक्टरी, फ्युजमेसिन, मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट र व्यापार पाठशालाले सहयोग गरेका थिए ।
एनसेल फाउन्डेसन समाजमा सकारात्मक परिवर्तनका लागि एक उत्प्रेरकको रूपमा उभिएको छ । समुदायमा अर्थपूर्ण परियोजनाहरू मार्फत दिगो प्रभाव पार्ने मुलमन्त्रमा आधारित फाउन्डेसन, एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) पहल मात्र नभई देशभरका समुदायहरूलाई सशक्त र समावेशी बनाउनका लागि योगदान पुर्याउन प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
हालसम्म २ अर्ब रुपैयाँभन्दा बढीको सामाजिक योगदान दिँदै एनसेलले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा १ करोड ३० लाखभन्दा बढी मानिसको जीवनमा विभिन्न सामाजिक पहलमार्फत सकारात्मक प्रभाव पारेको जनाएको छ ।